वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–१४ पिपरा स्थित चिनिमिल आवास क्षेत्रभित्र रहेको पशुपतिनाथ मन्दिरमा सोमबार राति चारवटा दान पेटिका चोरी भएको छ। धार्मिक स्थलभित्रै यस्तो चोरीको घटना घट्दा पनि सुरक्षा बेवास्ता र संस्थागत उदासीनता प्रष्ट देखिएको छ।
स्थानीयवासी र मन्दिर स्रोतका अनुसार सोमबारको दिनभरि मन्दिरमा दर्शनार्थीहरूको घुइँचो लाग्दो थियो। सोही दिन रातिको समयमा मन्दिरभित्र रहेका चारवटा दान पेटिका अज्ञात व्यक्तिहरूले चोरी गरेका हुन्।
मन्दिरका पुजारीका अनुसार ती पेटिकाहरूमा भक्तजनहरूले चढाएको नगद, सिक्का, तथा पूजासामग्री भरिएको थियो। तर, यति गम्भीर चोरीको घटना भएतापनि न प्रहरीमा उजुरी गरिएको छ, न त मन्दिर समितिले कुनै आधिकारिक जानकारी सार्वजनिक गरेको छ।
स्थानीयका अनुसार घटना सोमबार राति नै भएको भए पनि यसको जानकारी मंगलबार साँझ मात्र बाहिरिएको हो।
मन्दिर परिसरभित्र कुनै पनि सुरक्षा गार्ड, निगरानी क्यामेरा वा अन्य सुरक्षा उपाय नहुनुले चोरी सजिलै सम्पन्न भएको देखिएको छ। यो अवस्था धार्मिक स्थलहरूमा समेत मौलाउँदै गएको सुरक्षाको कमजोरीतर्फ संकेत गर्दछ।
पेटिका चोरीको विषयमा मन्दिर समितिले हालसम्म कुनै स्पष्टीकरण दिएको छैन, जसले थप शंका र असन्तोष जन्माएको छ। स्थानीय बासिन्दाहरूले यस्ता धार्मिक स्थलहरूमा सुरक्षा व्यवस्था कडा गर्न माग गरेका छन्।
चोरीको घटनाले मन्दिरप्रति जनताको आस्था मात्र होइन, सार्वजनिक सम्पत्ति र धार्मिक योगदानप्रति सुरक्षा प्रणाली कत्तिको कमजोर छ भन्ने प्रश्न पनि उठाएको छ।