वीरगञ्ज । नारायणी अस्पतालको प्रांगणमा खाना खाइरहेका कुरुवामाथि प्रहरी सहायक हवल्दार परमानन्द कपाजीद्वारा गरिएको दुर्व्यवहारले सर्वसाधारणमा तीव्र असन्तोष फैलिएको छ।
अस्पतालमा बिरामीको कुरुवा बसेका पीडितहरूका अनुसार उनीहरू खाना खाइरहेका बेलामा हवल्दार कपाजीले अपमानजनक शब्द प्रयोग गर्दै गालीगलौज र धम्की दिएका थिए। सार्वजनिक स्थलमा शान्तिपूर्वक बसेका नागरिकलाई यसरी दुर्व्यवहार गर्नु प्रहरीबाट अपेक्षित जिम्मेवारीको घोर उल्लंघन भएको पीडितको गुनासो छ।
"हामी आफन्त बिरामी भएर अस्पतालमा बसिरहेका छौं, बाहिर चोक टोलमा होइन, अस्पतालको आँगनमा खाना खाइरहेका थियौं। तर प्रहरी हवल्दार आएर हामीलाई अपमान गरे, गाली गरे," एक कुरुवाले नाम नखुलाउने शर्तमा बताए।
सार्वजनिक सेवा प्रवाह गर्ने संस्थामा खटिएका सुरक्षाकर्मीहरूबाट यस्तो अभद्र व्यवहार हुनु केवल दु:खद मात्र होइन, कानुनी दृष्टिकोणले समेत आपत्तिजनक छ। नारायणी अस्पतालको व्यवस्थापन र पर्सा प्रहरी प्रशासनले यस्ता व्यवहारप्रति चासो नदेखाउनु अझ गम्भीर प्रश्नको विषय बनेको छ।
यसरी अस्पतालमा बसेका सर्वसाधारण नागरिकलाई दुर्व्यवहार गर्नु न त प्रहरीको आचारसंहितासँग मेल खान्छ, न नै मानवताको मूल्यसँग। पीडित कुरुवाहरूले दोषी प्रहरी हवल्दारमाथि अनुशासनात्मक कारबाही गर्न माग गरेका छन्।
सार्वजनिक स्थलमा मर्यादा र संवेदनशीलता प्रदर्शन गर्नुपर्ने सुरक्षाकर्मी स्वयंले नागरिकलाई होच्याउने, गाली गर्ने र डरत्रास सिर्जना गर्ने जस्ता कार्य गर्दा नागरिक र सुरक्षाकर्मीबीचको विश्वासको खाडल अझै गहिरो बन्दै गएको देखिन्छ।