सप्तरी । मदिरा तस्करी नियन्त्रण गर्ने क्रममा गए राति सप्तरीमा प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको विरोधमा स्थानीयहरु प्रदर्शनमा उत्रिएका छन् ।
राजगढ गाउँपालिका– २ कमलपुरका ३६ वर्षीय लालु यादवको मङ्गलबार राति प्रहरीको गोलीबाट मृत्यु भएपछि उनका आफन्त र स्थानीय जिल्ला प्रहरी कार्यालय सप्तरीको गेटमा टायर बालेर प्रदर्शनमा उत्रिएका हुन् ।
भारतीय सीमा नजिक रहेको उक्त गाउँपालिकामा ठुलो मात्रामा मदिरा भण्डार गरी तस्करी भइरहेको सूचनाका अधारमा ‘सर्च अप्रेसन’ चलाउँदा स्थानीय र प्रहरीबिच झडप भएको थियो । प्रहरीलाई घेरा हालेर ढुङ्गामुढा गर्न थालेपछि आत्मरक्षाका लागि गोली चलाउनुपरेको प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिनुभयो ।
सोही क्रममा तिघ्रामा गोली लागेर गम्भीर घाइते भएका यादवलाई उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
यता मृतक यादवलाई प्रहरीले बोलाएर नियन्त्रणमा लिई गोली हानेर खेतमा फालेको राजगढ १ का दीपेन्द्र यादवले आरोप लगाउनुभयो ।
“प्रहरीले पहिला मृतक लालुलाई बोलायो अनि घर सर्च गर्ने बेला सामान्य विवाद हुँदा प्रहरीले नियन्त्रणमा लिएर गोली हानेको छ, दोहाेरो झडप भएको छैन,’’ यादवको आरोप छ ।
यस्तै, प्रदर्शनमा सहभागी मृतकका ज्वाइँ ई संजीवनारायण यादवले विद्यालय व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका मृतक यादव लाइसेन्स लिएर व्यापार गर्दै आएकोमा निहत्थालाई नियन्त्रणमा लिएर प्रहरीले गोली हानेको आरोप लगाए ।
भारतको सीमा नजिक पर्ने राजगढ गाउँपालिका–२ स्थितबाट प्रहरीले विभिन्न ब्रान्डका ८० कार्टुन मदिरा बरामद गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।