पर्सा । खडेरीको कारण खानेपानी अभाव झेलिरहेका पर्साका प्रभावित समुदायहरूलाई लक्षित गर्दै वीरगञ्ज महानगरपालिका वडा नं. ११ श्रीपुरस्थित धागर टोलमा राहत वितरण कार्यक्रम सम्पन्न गरिएको छ।
"मेरो पानी मेरो बानी" अभियानअन्तर्गत आयोजित उक्त कार्यक्रम युनिसेफ नेपाल र वीरगञ्ज महानगरपालिकाको संयुक्त प्रयासमा सम्पन्न भएको हो। कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी, नेपाल खानेपानी संस्थान, दिगो विकास स्रोत केन्द्र तथा एन.जी.ओ. सि.सि.को सहकार्य रहेको थियो।
कार्यक्रममा ३० जना स्थानीयलाई एक थान पानी बाल्टिन (नल जडित), एक थान जग र एक थान पानी सफा गर्ने केमिकल प्रदान गरिएको आयोजकहरूले जानकारी दिए।
जिल्ला समन्वय समिति पर्साका अध्यक्ष इब्राहिम देवानका अनुसार, हाल अति प्रभावित क्षेत्रहरूमा ६ सय थान राहत सामग्री वितरण गरिनेछ भने आगामी दिनमा थप वितरण गर्ने योजना समेत रहेको बताए। साथै, दीर्घकालीन समाधानका लागि उचित रणनीति आवश्यक रहेको उल्लेख गरे।
नेपाल रेडक्रस सोसाइटी वीरगञ्ज शाखाकी वरिष्ठ सदस्य तथा समाजसेवी गुड्डी साहको नेतृत्वमा कार्यक्रम संचालन गरिएको थियो। कार्यक्रममा नन्दनी गुप्ता, प्रिया कुश्वाहा, तथा एन.जी.ओ. सि.सि.का प्रतिनिधि दुलारचन प्रसाद र आनंद यादवको समेत उल्लेखनीय उपस्थिति रहेको थियो।
‘मेरो पानी मेरो बानी’ अभियान मार्फत जल स्रोतको संरक्षण, खानेपानीको उचित उपयोग र जनचेतना अभिवृद्धि गराउने उद्देश्य लिइएको आयोजकहरूले बताए।