पर्सा । वीरगञ्जको आदर्शनगरस्थित “रेनरेनले सुपरमार्केट” मा चिनियाँ नागरिकहरूले भिसाको दुरुपयोग गर्दै प्रत्यक्ष रूपमा अवैध व्यापार सञ्चालन गरिरहेको भन्दै राष्ट्रिय एकता अभियानले प्रमुख जिल्ला अधिकारीमार्फत सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ।
नागरिकस्तरको अभियानका अध्यक्ष विनय यादवका अनुसार, चिनियाँ नागरिक जियांग लि र एन मिङले नेपाली नागरिकको नाममा दर्ता गरिएको व्यवसायमा प्रत्यक्ष संलग्न हुँदै व्यापार सञ्चालन गरिरहेका छन्। कागजमा नेपालीको नाम राखिए पनि पूरै लगानी र व्यवस्थापन चिनियाँकै रहेको दाबी गरिएको छ।
अभियानले सो कार्यले स्थानीय व्यवसायिक प्रतिस्पर्धामा असमान अवस्था सिर्जना गर्नुका साथै राष्ट्रिय सुरक्षामा समेत चुनौती थपिएको उल्लेख गरेको छ।
ज्ञापनपत्रमार्फत अभियानले चिनियाँ नागरिकहरूको भिसा अवस्थाबारे छानबिन र कारबाही,,सुपरमार्केटको वास्तविक स्वामीको पहिचान सार्वजनिक,सीमा क्षेत्रमा निगरानी र नियन्त्रण प्रणाली मजबुत बनाउने, विदेशी नागरिकको व्यापार सञ्चालन सम्बन्धी कानुनको कडाइका साथ कार्यान्वयन गर्न मांग गर्दे ध्यानाकर्षण गराएको हो।
अभियानले विदेशी नागरिकहरूले भिसाको दुरुपयोग गर्दै अवैध रूपले सञ्चालन गरेका व्यवसायले दीर्घकालीन रूपमा नेपाली उद्यमशीलता र स्वदेशी लगानीमा नकारात्मक असर पार्न सक्ने चेतावनीसमेत दिएको छ।