पर्सा । राष्ट्रिय अग्रवाल प्रज्ञा प्रतिष्ठानको प्रथम पदस्थापन कार्यक्रम शुक्रबार वीरगञ्जको आदर्शनगरस्थित त्रिशला रेस्टुरेन्टमा भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा कानुन तथा संघीय मामिला मन्त्री माननीय अजय चौरसिया प्रमुख अतिथिका रूपमा उपस्थित रहेका थिए।
विशिष्ट अतिथिमा प्रदेश सभासद् बिना शर्मा, समाजसेवी श्याम पटेल, उद्योगी ओम प्रकाश शर्मा, अशोक वैधलगायतको सहभागिता रहेको थियो। अग्रवाल समाजका विभिन्न क्षेत्रका प्रतिनिधि, व्यवसायी, पत्रकार तथा स्थानीय प्रतिष्ठित व्यक्तित्वहरूको उपस्थिति उल्लेखनीय रह्यो।
कार्यक्रमको संयोजन तदर्थ समिति संयोजक ज्योति कुमार केयालले गरेका थिए भने कार्यक्रम संयोजक अनुप अग्रवाल रहे। पदस्थापनको औपचारिक कार्य आर.पी. खेतानले सम्पन्न गराएका थिए। यस अवसरमा वरिष्ठ पत्रकार जगदीश प्रसाद शर्मा, नरेन्द्र साहलगायतको सहभागिता थियो।
समाजका योगदानकर्ताद्वय श्रीमती नूतन सरावगी र श्रीमती स्वेता अग्रवाललाई विशेष सम्मान प्रदान गरिएको थियो।
नवपदस्थापित पदाधिकारीहरूमा अध्यक्ष ज्योति कुमार केयाल, उपाध्यक्ष सञ्जय अग्रवाल, महासचिव परमानेन्द कदमीया, कोषाध्यक्ष रवि शंकर अग्रवाल, सदस्यहरूमा श्रीमती नूतन पोद्दार सरावगी, अनुप अग्रवाल, सुशील मित्तल, अरविन्द खेतान, दिपेश अग्रवाल, निरज अग्रवाल, प्रदीप केडिया, अशोक टेमानी, गणेश लाठ र पिताम्बर मुनका रहेका छन्।
अध्यक्ष ज्योति कुमार केयालले आफ्नो सम्बोधनमा संस्थालाई सामाजिक, सांस्कृतिक र शैक्षिक उत्थानमा समर्पित गर्ने प्रतिबद्धता व्यक्त गर्दै अग्रवाल समाजको एकता र पहिचान मजबुत बनाउन सबैको सहकार्य आवश्यक रहेको बताए।
कार्यक्रमको अन्त्यमा अतिथि तथा सहभागीहरूले नयाँ नेतृत्वलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए।