सिरहा । सिरहाको कमला नदीस्थित उतराहिनी बोलबम यात्रा जाँदै गरेका श्रद्धालुहरू बोकेको एक ट्याक्टर आज बिहान दुर्घटनाग्रस्त भएको छ। कर्जन्हा नगरपालिका–१० मा अनियन्त्रित भई ट्याक्टर पल्टिँदा केही यात्रु सामान्य घाइते भएका छन्।
स्थानीय प्रत्यक्षदर्शीका अनुसार, दुर्घटना भएको ट्याक्टरमा दर्जनौँ बोलबम तीर्थयात्रीहरू सवार थिए। ती यात्रीहरू साउन महिनाको अवसरमा कमला नदीको उतराहिनी घाटमा जल अर्पण गर्नका लागि कैलाशनाथ महादेवलाई चढाउने जल बोकेर हिँडेका थिए।
दुर्घटना भएपछि स्थानीय बासिन्दा र प्रहरीले तत्काल उद्धार कार्य सुरु गरी घाइतेहरूलाई नजिकैको स्वास्थ्य चौकीमा उपचारका लागि पठाइएको छ। घाइतेहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
प्राथमिक अनुसन्धानका क्रममा ट्याक्टरको गति उच्च रहेको र सडकको मोडमा चालकले नियन्त्रण गुमाउँदा दुर्घटना भएको अनुमान गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको सिरहा प्रहरीले जनाएको छ।
यसअघि पनि सावन महिनामा बोलबम यात्राका क्रममा ट्याक्टर, ट्रली र जीपहरू दुर्घटनामा पर्ने घटनाहरू विभिन्न स्थानमा हुने गरेका छन्। प्रहरी प्रशासनले यस्ता यात्रा सुरक्षित बनाउन चालकहरूलाई गति नियन्त्रणमा राख्न र यात्रुहरूलाई सावधानी अपनाउन आग्रह गरेको छ।