पर्सा । आज वीरगञ्जमा नेवार समुदायले ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको गाईजात्रा धुमधामका साथ मनाए। गाईजात्रा अलखिया मठबाट सुरु भई माईस्थान मन्दिर हुँदै नगर परिक्रमा गरिएको थियो। यस क्रममा सहभागीहरूले नेवार समुदायको परम्परागत वेशभूषा, विविध सांस्कृतिक झाँकी, नाचगान र बाजागाजासहितको प्रदर्शन गरे।
ऐतिहासिक मान्यताअनुसार, राजा प्रताप मल्लले आफ्नी रानीलाई पुत्र वियोगको पीडा कम गर्नका लागि एक वर्षभित्र मृत्यु भएका परिवारलाई गाईजात्रा निकाल्न आदेश दिएका थिए। त्यसपछि यो परम्परा नेवार समुदायमा निरन्तरता पाउँदै आएको छ।
गाईजात्रा केवल मृतकको सम्झना मात्र नभई समुदायमा एकता, हास्यव्यंग्य, र सामाजिक सन्देश फैलाउने अवसरका रूपमा पनि मनाइन्छ। वीरगञ्जको आजको गाईजात्रामा स्थानीय बासिन्दा, समुदायका अगुवा र दर्शकहरूको उल्लेख्य भीड देखिएको थियो।