वीरगञ्ज । भूमिसुधार तथा मालपोत कार्यालय पोखरियाले आर्थिक वर्ष २०८१/०८२ मा २ करोड ३० लाख ४५ हजार रुपैयाँ राजस्व संकलन गरेको छ। गत फागुनदेखि सञ्चालनमा आएको उक्त कार्यालयले फागुनदेखि असारसम्मको पाँच महिनाको अवधिमा नै यो उल्लेखनीय उपलब्धि हासिल गरेको हो।
कार्यालयका प्रमुख रामजी साहका अनुसार, फागुन महिनामा ९ लाख ६३ हजार ४७८ रुपैयाँ, चैत महिनामा ४३ लाख २३ हजार ८४९ रुपैयाँ, वैशाख महिनामा ५१ लाख ८९ हजार ४६२ रुपैयाँ, जेठ महिनामा ७४ लाख ६८ हजार १९४ रुपैयाँ तथा असार महिनामा ५१ लाख ७३० रुपैयाँ राजस्व संकलन गरिएको छ।
पालिका अनुसार राजस्व संकलन विवरण हेर्दा, पोखरियाबाट ८० लाख ६८ हजार ९३९ रुपैयाँ, जगन्नाथपुरबाट २६ लाख ६३ हजार रुपैयाँ, छिपहरमाईबाट २६ लाख ५७ हजार ७२९ रुपैयाँ, धोबिनीबाट २३ लाख ४७ हजार ४४२ रुपैयाँ, पकाहा महेन्द्रबाट २३ लाख ६७ हजार ४०० रुपैयाँ तथा बिन्दवासिनीबाट २० लाख ८ हजार २८४ रुपैयाँ संकलन भएको छ।
प्रमुख साहले भने, “पोखरियामा मालपोत कार्यालय सञ्चालनमा आएपछि यहाँका नागरिकले सेवा पाउन वीरगञ्ज वा टाढा धाउनुपरेको छैन। छिटो, सहज र पारदर्शी सेवा प्रवाहका कारण राजस्व संकलनमा पनि उत्साहजनक वृद्धि भएको छ। आगामी दिनमा सेवाको गुणस्तर थप उन्नत बनाउँदै राजस्व संकलनमा निरन्तर प्रगति गर्ने हाम्रो लक्ष्य छ।”