धरान । गत बुधबार सुनसरीको झुम्का कारागारबाट पर्खाल नाघि फरार भएका कैदी झापाबाट पक्राउपरेका छन । खोटाङको दिप्रुङचुचुमा गाउँपालिका-२ घर भएका जबरजस्ती करणी कसूरमा सजाय भोगिरहेका रुपक पौडेललाई झापाको बिर्तामोड पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी योगराज खतिवडाले बताए।
फरार रहेका कैदीलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका - १० बिराटपोखरबाट लुकेर बसिरहेको अवस्थामा शनिबार बिहान ६ बजे पक्राउ गर्न सफल भएको डीएसपी खतिवडाले बताए । कैदी रुपक पौडेललाई जिल्ला अदालत सुनसरीबाट जबरजस्ती करणी कसूरमा १३ वर्ष कैद, ५ लाख जरिवाना र ३० हजार रुपैया क्षतिपूर्ति सजायको फैसला गरेको थियो ।
झुम्का कारागारमा सशस्त्र प्रहरीले भित्री सुरक्षा र नेपाल प्रहरीले बाहिरी सुरक्षाको जिम्मा पाएको भएपनि सुरक्षा व्यवस्था कमजोर भएका कारण पौडेलले ११ पिट लामो पर्खाल नाघेर भग्न सफल भएका थिए ।