पाल्पा । सडक छेउमा रहेको रुख नजिकै एउटा फलामे खोर बनाइएको छ । त्यही खोरभित्र थुनिएर जीवनका खुसी भेटाउने प्रयासमा हुनुहुन्छ, बालक पवन कुमाल । पाल्पाको रामपुर नगरपालिका–६ स्थित तिलकपुर बस्ने ११ वर्षीय पवन करिब डेढ वर्षदेखि फलामको खोरमा जीवन बिताइरहनुभएको छ ।
उहाँको यो उमेर विद्यालयमा गएर लेखपढ गर्ने, साथीभाइसँग रमाउँदै नयाँ कुरा सिक्ने र जान्ने हो । बोल्न नसक्ने तर कोही मान्छे देख्यो भने मुस्कुुराउँदै हातले इशारा गरेर आफूतिर बोलाउँदै गरेको कारुणिक दृश्य देख्ने जो सुकैलाई पीडादायी बनाएको हुन्छ । नजिक कोही व्यक्ति आउन चाहेन भने आफ्नै इशारामा (नबुझिने आवाज) आफूतिर आउन उहाँ आग्रह गर्नुहुन्छ । पवनलाई खोरभित्र थुनिएर बस्न मन छैन तर, शारीरिक तथा मानसिक अस्वस्थताका कारण बाध्यताले खोरमै बस्नु परेको छ ।