रौतहट । सर्लाही प्रहरीले २५ किलो लागूऔषध गाँजासहित एक युवकलाई पक्राउ गरेको छ।
लालबन्दी नगरपालिका–८, खतिवडा चोकबाट २० वर्षीय सन्ते ब्लोनलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक वीरेन्द्रसिंह जोहारीले जानकारी दिए।
उनका अनुसार नारायणखोलाबाट पत्थरकोट हुँदै लालबन्दीतर्फ आउँदै गरेको बागमती प्रदेश ०२–०४२ प ४०५३ नम्बरको मोटरसाइकललाई रोक्न खोज्दा त्यसमा सवार दुई युवक भाग्न खोजेका थिए। प्रहरीको पछ्याइपछि उनीहरूले मोटरसाइकल र झोला छाडेर खेततर्फ भाग्दा, कामीटार बस्ने ब्लोनलाई पक्राउ गरिएको र अर्का युवक भने फरार भएको जनाइएको छ।
प्रहरीलाई देखेपछि युवकहरूले फालेको झोलामा पाँचवटा पोकामा २५ किलो गाँजा बरामद भएको छ। यसबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।