कलैया । बारामा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २ जना गम्भीर घाइते भएका छन्। जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका वडा नं २ पानीटंकी नजिकै सो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको बारा प्रहरीले जनाएको छ।
वीरगन्ज पथलैया सडक खण्डमा सिमराबाट पथलैया तर्फ जादै गरेको बा ९० प ६७९४ नम्बरको मोटरसाइकल र विपरित दिशा तर्फ बाट आउदै गरेको बा.प्र. ०६-००३ प १७५३ नंम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई दुर्घटना हुदा उपचारको क्रममा एकजना मृत्यु भएको हो।
मृत्यु हुनेमा सप्तरीको बसवलपुर नगरपालिका वडा नं ७ बस्ने जयकान्त पण्डितको छोरा २८ वर्षिय महेश पण्डित रहेका छन्। १७५३ नम्बरको मोटरसाइकलमा सवार पण्डितलाई टाउको र बायाँ खुट्टामा गम्भीर चोटपटक लागेकोमा नौतन स्थित एल एस न्युरो अस्पतालमा उपचार क्रममा उनको मृत्यु भएको हो।
यस्तै घाइते हुनेमा रौटहत गुजरा गाउँपालिका वडा नं ७ परसवा बस्ने पारसनाथको छोरा २५ वर्षिय रोशन चौधरीको टाउको र दुवै खुट्टामा चोट लागी अवस्था गम्भिर रहेको र प्रादेशिक अस्पताल कलैयामा उपचार भइरहेको बाराका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए। यस्तै त्यहीका देवल चौधरीको छोरा ३४ वर्षिय भुपेन्द्र चौधरीको दाहिने हात र बाया खुट्टामा चोट गम्भिर चोटपटक लागेको भने उनको उपचार एल.एस. न्युरो अस्पतालमा भईरहेको छ।
दुबै मोटरसाइकल प्रहरी नियन्त्रणमा छन् भने थप अनुसन्धान भईरहेको छ।