सर्लाही । सर्लाहीको लालबन्दीमा सोमबार नगर कार्यपालिकाको बैठक आगजनी र तोडफोड भएको नगरपालिका कार्यालयको परिसरमा बसेको छ ।
आगजनी र तोडफोडबाट नगरपालिकाको प्रशासनिक भवन र भवन भित्र रहेका कागजात, विद्युतीय उपकरण, फर्निचर तथा अन्य सरसामग्री सबै तहसनहस भएपछि परिसरमा नगर कार्यपालिकाको ५९ औँ बैठक बसेको हो ।
बैठकले नगरपालिकाको प्रशासनिक भवन, वडा कार्यालयहरु र नगरप्रमुख वासुदेव अधिकारीको घरमा भएको आगजनी र तोडफोडप्रति खेद प्रकट गर्दै हाल ठप्प रहेका नगर र वडाको आधारभूत सेवा तत्काल सुचारु गराउन तयारी अघि बढाउने निर्णय गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त न्यौपानेले बताउनुभयो ।
लालबन्दी नगरपालिका ८ मा रहेको आगजनी र तोडफोड भएकै भवनलाई मर्मत सम्भार गरी त्यहीँबाट नगरपालिका कार्यालय सञ्चालन गर्ने कार्यपालिकाको बैठकले निर्णय गरेको छ । नागरिकसँग प्रत्यक्ष जोडिएको राजस्व सङ्कलनका लागि दुई÷तीन दिनभित्रै अस्थायीरुपमा काउन्टर खडा गर्ने तथा क्षति पुगेका वडा कार्यालयहरुले तीन दिनभित्रमा क्षतिको लगत सङ्कलन गरी बुझाउने र थाशीघ्र व्यक्तिगत घटना दर्तासहितका सेवा सुरु गर्ने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले जानकारी दिनुभयो ।
जेनजी पुस्ताको नाउमा भएको प्रदर्शनका क्रममा आगजनी र तोडफोडबाट लालबन्दी नगरपालिकाको प्रशासनिक भवनसहित भवनभित्र रहेका सम्पूर्ण शाखाका कम्प्युटर, विभिन्न विद्युतीय उपकरण, फर्निचर, कागजातलगायत सबै जलेर नष्ट भएका छन् । यस्तै प्रदर्शनकारीले आगो झोस्दा नगरप्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत चढ्ने गाडी, एउटा जेसिबी, एउटा डोजर, एउटा ट्रक र एउटा ट्याक्टर प्रयोग गर्न नमिल्ने गरी जलेका छन् ।
फुटेका सिसा र आगजनी भएका विभिन्न सरसामग्रीका टुक्रा यत्रतत्र रहेकाले नगरपालिकाको कार्यालयभित्र पस्न सक्ने अवस्था छैन् । इलाका प्रहरी कार्यालय लालबन्दीले क्षतिको सर्जिमिन मुचुल्का गरिसकेको छ ।
आगजनीबाट लालबन्दी नगरपालिकाको वडा नं. १, २, ४, ५, ६, ७, ९ र १७ को वडा कार्यालयमा समेत क्षति पुगेको छ । गएको मङ्गलबार भएको घटनापछि यस नगरपालिकाका कुनै पनि वडाले कामकारवाही अघि बढाउन सकेका छैनन् ।
आगजनी र तोडफोडको घटनापछि वडा र नगरपालिकाको कामकाज पूर्णरुपमा ठप्प हुँदा नगरवासी मारमा परेका छन् । नगरपालिका मातहतका स्वास्थ्य संस्थाहरुले भने नियमित सेवा प्रवाह गरिरहेका नगर उपप्रमुख कल्पनामाया पाख्रिनले जानकारी दिनुभयो । उपप्रमुख पाख्रिनका अनुसार लालबन्दी नगरपालिकाभित्रका विद्यालय पनि सञ्चालनमा आइसकेका छन् ।