वीरगञ्ज । हालैको Gen-Z पुस्ताको शान्तिपूर्ण आन्दोलनको आडमा नेकपा (एमाले) केन्द्रीय कमिटी सदस्य तथा पूर्वमन्त्री राजकुमार गुप्ताको घरमा अज्ञात अराजक समूहले तोडफोड, लुटपाट र आगजनी गरेको घटनाप्रति राष्ट्रिय युवा संघ नेपाल, पर्साले घोर निन्दा गरेको छ।
संघले शनिबार एक कार्यक्रमको आयोजना गरी गुप्ताको घर वरिपरि तथा आगजनीबाट क्षतिग्रस्त परिसरमा सरसफाइ गरेको हो। कार्यक्रममा अराजक गतिविधि रोक्न र दोषीलाई न्यायिक हिरासतमा ल्याई कानुनअनुसार कारबाही गर्न सम्बन्धित निकायलाई आग्रह गरिएको संघले जनाएको छ।
कार्यक्रममा नेकपा (एमाले) पर्साका कार्यवाहक अध्यक्ष मनोज गुप्ताले भने, “शान्तिपूर्ण आन्दोलनको नाममा हिंसा र तोडफोड स्वीकार्य छैन। समाज र देशको हितका लागि सबैले संयम र जिम्मेवारीपूर्वक व्यवहार गर्नुपर्छ। आज हामीले सरसफाइ गरेर एक सकारात्मक सन्देश दिन खोजेका हौं,” भन्दै दोषीलाई कानुनको दायरामा ल्याउन सरकारसँग आग्रह गरे।
सो अवसरमा राष्ट्रिय युवा संघ नेपाल पर्साका पदाधिकारी, स्थानीय युवाहरू र पार्टीका नेता–कार्यकर्ताको उल्लेख्य उपस्थिति रहेको थियो।