वीरगञ्ज । लायन्स क्लब अफ वीरगञ्ज, लायन्स क्लब अफ वीरगञ्ज विजयपथ, लायन्स क्लब अफ वीरगञ्ज सेस्मी एकेडेमी र लायन्स क्लब अफ वीरगञ्ज पिंक सिटीको संयुक्त आयोजनामा हालै भएको Gen-Z आन्दोलनका क्रममा निधन भएका प्रदर्शनकारीहरूको आत्माको चिरशान्तिको लागि दीप प्रज्वलन तथा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको छ।
वीरगञ्जको घण्टाघरमा आयोजित दीप प्रज्वलन तथा श्रद्धाञ्जली कार्यक्रममा लायन्स क्लबका पदाधिकारी तथा सदस्यहरूले दिवंगत आत्माहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै दीप प्रज्वलन गरेका थिए।
लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एसकी एरिया सेक्रेटरी लायन सल्मा खातुनले नागरिकको लोकतान्त्रिक अधिकार र सामाजिक न्यायका लागि ज्यान गुमाउने प्रदर्शनकारीहरूको साहसिक योगदानलाई स्मरण गर्दै उनीहरुको बलिदानलाई सम्मान गर्नुपर्नेमा जोड दिएकी थिइन्।
सो अवसरमा उपस्थित लायन्स सदस्यहरूले मृतक परिवारप्रति समवेदना प्रकट गर्दै दिवंगत आत्माको चिरशान्तिको लागि प्रार्थना गरेका थिए।
लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एसका जोन चेयर पर्सन लायन सुनिल गुप्ताको अध्यक्षतामा भएको कार्यक्रममा लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एसकी डिष्ट्रिक्ट चिफ लायन आशमा सिंह यादव, डिष्ट्रिक्ट डेपुटी चिफ लायन विजय कुशवाहा, लायन्स क्लब अफ वीरगञ्ज पिंक सिटीकी अध्यक्ष लायन पिंकी साह, लायन मेहर यादव, लायन रुपशिला जैसवाल, लायन सुमन वर्णवाल, लायन अहिल्या श्रेष्ठ, लायन दिलिप कुमार पण्डित, लायन बन्शराज गुप्ता, लायन रोहित साह लगायत सेस्मी इन्टरनेशनल स्कुल र सालोम सेकेन्ड्री स्कुलका विद्यार्थी एवं शिक्षकहरुको उल्लेख्य सहभागिता रहेको थियो ।