वीरगञ्ज । नेकपा (एमाले) पर्सा जिल्ला कमिटीको विशेष बैठक आज मिति २०८२ असोज १० गते सम्पन्न भयो। हाल उत्पन्न जेनजी आन्दोलनले सिर्जना गरेको राजनीतिक, सामाजिक तथा संगठनात्मक चुनौतीलाई सम्बोधन गर्ने उद्देश्यले बैठक आयोजना गरिएको हो।
बैठकलाई सम्बोधन गर्दै पार्टीका केन्द्रीय सदस्य राजकुमार गुप्ताले एमाले सदैव जनताको पक्षमा उभिने दल भएको बताउँदै परिस्थितिले जुनसुकै चुनौती सिर्जना गरे पनि एमाले संगठनले जनताको विश्वास जित्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले पार्टीलाई संगठनात्मक रूपमा थप मजबुत बनाउन सबै तहका कार्यकर्ताले एउटै लक्ष्यका साथ अघि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभयो।
त्यसैगरी बैठकको अध्यक्षता गर्नु भएका जिल्ला कमिटी उपाध्यक्ष मनोज गुप्ताले एमालेलाई जनतामुखी कार्यद्वारा थप लोकप्रिय बनाउन लागिपर्ने बताउँदै जिल्लामा देखिएका समस्याहरूको समाधानका लागि पार्टी एकताबद्ध भएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
मधेश प्रदेश कमिटीका उपाध्यक्ष विचारी यादवले टीका लगाएर मात्र नेता कहलाउने प्रवृत्तिको अन्त्य गर्दै, वास्तविक रूपमै जनतासँगै रहने नेतृत्वलाई अघि बढाउनुपर्ने धारणा राख्नुभयो।
बैठकको अध्यक्षता जिल्ला कमिटीका उपाध्यक्ष मनोज गुप्ताले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन जिल्ला कमिटी आप सचिव नबिजान मियाँले गर्नुभएको हो। बैठकमा नेकपा (एमाले) का केन्द्रीय सदस्य अरविन्द सिंह, मधेश प्रदेश कमिटी सदस्य विजय चौरसिया, सलाउदिन अहमद, वीरेन्द्र यादव, पूर्व केन्द्रीय सदस्य प्रह्लाद गिरी, जिल्ला कमिटी उपसचिव सीता लामा लगायतको सक्रिय उपस्थिती रहेको थियो।