पर्सा । लाखौं रुपैयाँ इन्धन खर्च हुने पकहा मैनपुर गाउँपालिकामा एम्बुलेन्स चलाउन डिजेल नपाउने अवस्था देखिनु आफैंमा लाजमर्दो घटना भएको छ । गाउँपालिका अध्यक्ष सुरेश मेहताको उदासीनता र गैरजिम्मेवारपनका कारण स्वास्थ्य सेवाजस्तो संवेदनशील क्षेत्रमा पनि बेवास्ता भइरहेको स्थानीयवासीले आरोप लगाएका छन् ।
वडा नं. १ मा तत्वा थरकी एक महिलाले आत्महत्या गरेपछि पोष्टमार्टमका लागि शव नारायणी अस्पताल लैजान खोज्दा गाउँपालिकाको एम्बुलेन्स चालक मनोज यादवले ‘इन्धन छैन, आउन सक्दिन’ भन्दै इन्कार गरेका थिए । अन्ततः गाउँलेहरूले आफ्नै खर्चमा डिजल व्यवस्थापन गरेर शव अस्पताल पुर्याउन बाध्य भएको हो ।
स्थानीयवासीहरू भन्छन्, “गाउँपालिकाबाट महिनौँदेखि लाखौं रुपैयाँ इन्धन शीर्षकमा खर्च भइरहेको विवरण सार्वजनिक हुन्छ, तर जनताको आवश्यकता परेका बेला एक लिटर इन्धन पनि उपलब्ध नहुनु भ्रष्टाचारको ठोस प्रमाण हो ।”
अध्यक्ष सुरेश मेहताको नेतृत्वमा भइरहेको यस्तो चरम लापरबाहीले गाउँपालिकाको सेवा प्रवाह नै ठप्प भएको भन्दै जनताले तीव्र आक्रोश व्यक्त गरेका छन् । जनताको करको पैसा सुविधामा नभई पदाधिकारी र नजिकका व्यक्तिहरूको स्वार्थमा मात्र खर्च भएको हो कि भन्ने प्रश्न उठेको छ ।