वीरगन्ज । वीरगन्जमा गत मंगलबार राति दुई समुहबिचमा भएको हानहानबाट युवकलाई हत्या गर्ने ‘खुनी दरिन्दे समूह (ग्याङ)’ का पाँच जना पक्राउ परेका छन ।
पक्राउ पर्नेमा ‘खुनी दरिन्दे समूह (ग्याङ)’ का वीरगन्ज महानगरपालिका–२४ रामगढवाका १९ वर्षीय गौतम पटेल,२० वर्षीय सुभांकर चौरसिया, २२ वर्षीय अमीरी पटेल भन्ने करण प्रसाद पटेल, २४ वर्षीय चन्दन चौरसिया र १९ वर्षीय अमन पटवा रहेका छन् ।
पर्साका प्रहरी उपरीक्षक सुदीपराज पाठकका अनुसार ‘खुनी दरिन्दे समूह’ को नामबाट ह्वाटसअप ग्रुप बनाएका युवाहरूले २० वर्षीय गोल्डेन भन्ने शिवम कुमार साह कानुको हत्या गरेको अनुसन्धानबाट खुलेको छ ।
मंगलबार राति ११ः३० बजेतिर वीरगन्ज महानगरपालिका–१० गीतामन्दिर रोडमा युवाहरूको दुई समूहबीच कुटपिट हुँदा बाराको परवानीपुर गाउँपालिका–९ स्थायी घर भई हाल वीरगन्ज–१० मा बस्दै आएका २० वर्षीय गोल्डेन भन्ने शिवम कुमार साह कानुको मृत्यु भएको थियो ।
प्रहरी उपरीक्षक पाठकले ‘खुनी दरिन्दे समूह’ को नामबाट ह्बाट्स अप ग्रुप बनाएका युवाहरूको समूहले मृतक गोल्डेनको समूहसँग यसअघि पहिलेपनि भएको झगडाको रिसबी साँध्न गत मंगलरबार राति कुटपिट गरेर हत्या गरेको जानकारी दिए ।
दशैंको मेला घुम्न आएका बेला गोल्डेनलाई ‘खुनी दरिन्दे समूह’ ले हातमुक्का र बाँसको भाटासमेतले प्रहार गरेको र त्यसपछि गोल्डेनलाई उपचारका लागि नारायणी अस्पतालमा पु¥याए लगत्तै चिकित्सकले मृत घोषित गरेको पाठकले बताए ।
मंगलबार राति घटना भएको खबर पाएलगत्तै प्रहरी टोली घटनाको अनुसन्धानमा खटेर घटना भएको २४ घण्टाभित्रै मुख्य आरोपितसहित ५ जनालाई पक्राउ गर्न सफल भएको प्रहरी उपरीक्षक पाठकले दाबी गरे । उक्त घटनामा संलग्न अरू केही व्यक्तिहरूको पनि पहिचान खुलिसकेको भन्दै प्रहरी उपरीक्षक पाठकले उनीहरूको खोजी कार्य जारी रहेको बताए ।