जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपाल मधेश प्रदेश एकताको प्रथम अधिवेशन सोमबारदेखि जनकपुरधाममा सुरु भएको छ । जसपा नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले अधिवेशन उद्घाटन गर्नुभएको हो ।
सो अवसरमा उहाँले विभिन्न आन्दोलनबाट हालसम्म प्राप्त उपलब्धि र वर्तमान संविधानको रक्षाका लागि सरकारले घोषणा गरेको फागुन २१ को चुनावमा भाग लिएर सफल बनाउनुको कुनै विकल्प नभएको बताउनुभयो । उहाँले जेनजी पुस्ताले उठाएको माग सम्बोधन गर्न विगतदेखि नै आफ्नो पार्टीले उठाउँदै आएको कार्यकारी राष्ट्रपतिको निर्वाचन हुनु जरुरी रहेको बताउनुभयो । उहाँले राजनीतिक अस्थिरताका कारण नै देशमा कुशासन बढ्नुका साथै विकासले गति नलिएको र नातावाद, कृपावाद हावी भएका कारण युवा आन्दोलनमा उत्रनु परेको धारणा राख्नुभयो ।
जनता समाजवादी पार्टीका उपाध्यक्ष एवं मधेश प्रदेशका पूर्वमुख्यमन्त्री लालबाबु राउतले जेनजी पुस्ताको आन्दोलन कुशासन र भ्रष्टाचारविरुद्ध भएकाले माग जायज भएको बताउनुभयो ।
पार्टीका महासचिव एवं प्रवक्ता मनिष सुमनले जेन्जी पुस्ताले उठाएको मागप्रति जनता समाजवादी पार्टीको पूर्ण समर्थन रहेको तर सङ्घीयताको विपक्षमा हुने कुनै निर्णय आफूहरूलाई स्वीकार नहुने स्पष्ट पार्नुभयो ।
जनता समाजवादी पार्टी नेपाल मधेश प्रदेशका अध्यक्ष बालकिशोरप्रसाद यादवको अध्यक्षतामा भएको कार्यव्रmममा पार्टीका उपाध्यक्ष गोविन्द चौधरी, रामकुमार शर्मा, जितेन्द्रकुमारसिंह यादव, नेता दीपक कार्कीसहितका वक्ताले आआफ्ना धारणा राख्नुभएको थियो ।
दुई दिनसम्म चल्ने अधिवेशनमा पाँच सय प्रतिनिधि तथा एक सय पर्यवेक्षक गरी छ सय जनाको सहभागिता रहेको जसपा नेपाल मधेश प्रदेशले जनाएको छ । अधिवेशनबाट प्रदेश अध्यक्षसहित ५१ सदस्यीय नयाँ कार्यसमिति चयन हुने प्रदेश अध्यक्ष बालकिशोरप्रसाद यादवले जानकारी दिनुभयो । बन्दसत्र मङ्गलबारदेखि सञ्चालन हुने छ ।