वीरगञ्ज । पर्सा जिल्लामा प्रहरी कार्यालयमा हुने अनावश्यक भिडभाड घटेसँगै सेवाग्राहीहरू सहज रूपमा सेवा लिन पाउँदा सन्तुष्टि व्यक्त गरेका छन् । प्रहरी उपरीक्षक (एसपी) सुदीपराज पाठकले जिल्लाको जिम्मेवारी सम्हालेपछि कार्यालय प्रवेशमा कडाइ गरेपछि यस्तो सुधार आएको हो ।
गत असोज ७ गते पर्सा जिल्ला प्रहरी प्रमुखको रूपमा कार्यभार सम्हालेका एसपी पाठकले कार्यालयमा कुनै पनि मुद्दा वा उजुरीमा पीडित व्यक्तिबाहेक अन्यलाई प्रवेश गर्न रोक लगाउने कडा निर्देशन दिएका थिए । उक्त निर्देशन लागू भएपछि कार्यालयमा हुने अनावश्यक भीड घटेको प्रहरीका अनुसार पुष्टि भएको छ ।
पर्सा प्रहरीका नायब उपरीक्षक (डीएसपी) किशोर लम्सालका अनुसार अहिले कार्यालयमा प्रवेश गर्ने सेवाग्राहीहरूको विवरण गेटमै दर्ता गराउने व्यवस्था गरिएको छ । “नाम, ठेगाना र काम प्रयोजन उल्लेख गराउनुपर्ने भएकाले काम नभएका बिचौलिया वा बाहिरका व्यक्तिहरू कार्यालयमा नआउने गरेका छन्,” उनले बताए ।
उनका अनुसार विगतमा विभिन्न शाखाहरू — विशेषगरी मुद्दा तथा अपराध शाखा, उजुरी शाखा र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सहायता कक्षमा पीडितभन्दा बाहिरका व्यक्तिहरूको भीड हुने गरेको थियो, जसले कार्यालयको काममा अवरोध पुर्याउँथ्यो ।
तर हालको कडाइपछि प्रहरी कार्यालयमा कार्य वातावरण शान्त र व्यवस्थित बनेको छ । सेवाग्राहीहरू पनि अब बिना धक्का-मुक्की सहज रूपमा आफ्नो काम गराउन सक्ने अवस्थामा पुगेका छन् ।
स्थानीयवासीहरूको भनाइमा एसपी पाठकले लागू गरेको यो नीति स्वागतयोग्य र अनुकरणीय छ । “पहिले प्रहरी कार्यालयमा जान डर लाग्थ्यो, अहिले भने सहज भएको छ,” वीरगञ्जका एक सेवाग्राहीले बताए ।
पर्सा प्रहरीले पछिल्लो समयमा पारदर्शिता, शिस्त र सेवा सुधारमा प्राथमिकता दिएको बताएको छ । प्रहरी उपरीक्षक पाठकले जनतासँगको विश्वास बलियो बनाउन र बिचौलिया प्रणाली अन्त्य गर्न यो पहल गरिएको बताए ।