जनकपुरधाम । मधेश प्रदेशमा बेला–बेलामा विभिन्न भ्रष्टाचारका घटनाहरू सार्वजनिक भइरहँदा अहिले जनकपुरधामस्थित जानकी मन्दिरको सौन्दर्यीकरणमा समेत अनियमितता भएको भन्दै व्यापक प्रश्न उठ्न थालेको छ।
हिन्दु धर्मावलम्बीहरूको आस्थाको केन्द्र मानिने जानकी मन्दिरमा मुख्यमन्त्री सौन्दर्यीकरण अभियानअन्तर्गत जडान गरिएका करोडौँ मूल्यका टायल फुट्न थालेका छन्। पुरानो रातो मार्बल हटाएर नयाँ टायल जडान गरिएको मन्दिरमा हाल ठाउँ–ठाउँमा टायल फाट्दा मन्दिरको सौन्दर्यमाथि नै प्रश्न उठेको छ।
सन् २०७५ साउन १३ गते तत्कालीन मुख्यमन्त्री लालबाबु राउतको नेतृत्वमा सुरु गरिएको ‘सौन्दर्यीकरण अभियान’ का लागि मधेश प्रदेश सरकारले करिब ७ करोड ७५ लाख रुपैयाँ खर्च गरेको थियो। सो परियोजना अन्तर्गत मन्दिरका तीनवटा प्रवेशद्वार, भित्री प्राङ्गण, लाइटिङ, ग्रेनाइट टायल जडान र ‘चरण गंगा’ निर्माणको योजना थियो।
तर सुरुदेखिनै स्थानीय अभियन्ता र धार्मिक अगुवाहरूले निर्माणमा प्रयोग भएका सामग्रीको गुणस्तरबारे शंका व्यक्त गर्दै विरोध प्रदर्शन गरेका थिए। उनीहरूले प्रयोग भएका मार्बल र टायल न्यून गुणस्तरका रहेको आरोप लगाउँदै कार्यस्थलमै निर्माण रोक्न माग गरेका थिए।
त्यतिबेला युवा अभियन्ता सरोज मिश्रले भनेका थिए - “पुरातत्व विभागका कर्मचारी र ठेकदारबीच मिलेमतोमा गुणस्तरहीन काम भइरहेको छ। गुणस्तर परीक्षण नभएसम्म काम अघि नबढोस्।”
तर विरोधका बाबजुद काम सकिएको घोषणा तत्कालीन मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका इन्जिनियर भगवान झाले गरेका थिए। जानकी मन्दिरका महन्थ रामतपेश्वर दासले सुरुदेखि नै नयाँ मार्बल जडानको विरोध गर्दै आएको बताए। उनले भने, “मन्दिरको पुरानो रातो मार्बल हटाएर नयाँ सेतो टायल राख्नु नै गल्ती थियो।”
उनका उत्तराधिकारी महन्थ रामरोशन दासले भने ठेकदारले सम्झौताविपरीत कार्य गरेको दाबी गरे। उनका अनुसार मन्दिरमा २८ एमएम मोटाइको मार्बल प्रयोग गर्नुपर्नेमा १४ एमएम मात्र, त्यो पनि न्यून गुणस्तरको मार्बल प्रयोग गरिएको थियो।
फुटेका टायल र बिग्रिएका संरचनाका कारण उत्पन्न आलोचनापछि जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख मनोज कुमार साहले बिहीबार मन्दिर परिसरको स्थलगत निरीक्षण गरेका छन्।
निरीक्षणपछि उनले भने, “जानकी मन्दिर धार्मिक, सांस्कृतिक र पर्यटकीय दृष्टिले अत्यन्त महत्त्वपूर्ण स्थल हो। यस्तो क्षति दीर्घकालीन रूपमा संरक्षणका लागि हानिकारक हुन सक्छ, त्यसैले तत्काल मर्मत आवश्यक छ।”
उनका अनुसार इन्जिनियर टोलीले टायल फुट्नुको कारण, क्षतिको मात्रा र प्रभावित क्षेत्रको मूल्यांकन गरी विस्तृत मर्मत योजना तयार गर्ने तयारी गरेको छ।
तर नगर प्रमुख साहले हाल यस सम्बन्धी फाइल अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पुगेको जनाएका छन्। अख्तियारले अनुसन्धान सकिनुअघि कुनै संरचनामा परिवर्तन नगर्न निर्देशन दिएको छ।
विवाह पञ्चमी नजिकिँदै गर्दा मन्दिर परिसरमा फाटेका टायल र बिग्रिएको स्वरूप देख्दा भक्तजन र स्थानीय बासिन्दाले चिन्ता व्यक्त गरेका छन्। उनीहरूले मन्दिरको मौलिकता र ऐतिहासिक सौन्दर्य जोगाउन प्रदेश सरकार, पुरातत्व विभाग र उपमहानगरपालिकाले तत्काल ध्यान दिन माग गरेका छन्।