वीरगञ्ज । बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले सम्झौता सम्पन्न गरे पनि तोकिएको समयमा काम सुरु नगर्ने सात ठेकेदार कम्पनीमाथि कारबाही प्रक्रिया अघि बढाएको छ।
उपमहानगरपालिकाले ती कम्पनीहरूलाई सात दिनभित्र संशोधित कार्यतालिका पेश गरी सोही अनुसार काम प्रारम्भ गर्न निर्देशन दिएको छ। उपमहानगरपालिकाका पूर्वाधार विकास शाखा प्रमुख इन्जिनियर अभयकान्त झाका अनुसार पटक–पटक सम्झाइबुझाइ गर्दा पनि ठेकेदारहरूले तोकिएको समयसीमाभित्र काम अगाडि बढाउन असफल भएपछि कानूनी प्रावधानअनुसार कारबाही प्रक्रिया अघि बढाइएको हो।
उनका अनुसार, “तोकिएको म्यादभित्र पनि काम सुरु नगरे सार्वजनिक खरीद ऐन तथा नियमावली अनुसार जरिवाना, धरौटी जफतलगायतका कडा कदम चालिनेछ।”
उपमहानगरपालिकाले जानकारी दिए अनुसार एन.के. कन्स्ट्रक्स प्रा.लि., पर्सा ले वडा नं. ७ मा निर्माणाधीन फकिरा गिरी राजेश्वर गिरी माध्यमिक विद्यालयको भवन निर्माणमा प्रगति नदेखाएकाले कारबाहीको दायरामा परेको छ।
त्यस्तै डी. एण्ड डी. कन्स्ट्रक्सन, बारा ले वडा नं. ५ र ७ जोड्ने २०० सैया अस्पताल अगाडिको कल्भर्ट निर्माण सुरु नगरेको, धिरज निर्माण सेवा, रौतहट ले वडा नं. १० को बलुवा–बेहरा सडक कालोपत्रे कार्य सुरु नगरेको, र श्री बजरङ्ग कन्स्ट्रक्स, बारा ले वडा नं. २४ मा पर्खाल निर्माणमा ढिलाइ गरेको पाइएको छ।
यस्तै, जसौली निर्माण सेवा, पर्सा ले इनर्वासिरा (वडा नं. १९) मा ट्र्याक खोल्ने तथा ढलान कार्य रोकिराखेको, मकवानपुर कन्स्ट्रक्सन प्रा.लि. ले बजनी वडा कार्यालयतर्फ जाने सडक कालोपत्रे कार्य (वडा नं. ३) सुरु नगरेको, र जय शम्भु भोलेनाथ कन्स्ट्रक्सन, मकवानपुर ले वडा नं. २२ मा चकरी जाने बाटो कालोपत्रे कार्यमा लापरबाही गरेको उपमहानगरपालिकाले जनाएको छ।
नगर प्रमुख राजन पौडेल ले जनताको करबाट सञ्चालित विकास योजनामा ढिलासुस्ती र लापरबाही सह्य नहुने चेतावनी दिएका छन्। उनले भने, “सम्झौतामा हस्ताक्षर गरेर पनि काम नगर्ने ठेकेदार कम्पनीहरूले नगरको विकास अवरुद्ध पारिरहेका छन्। अब यस्ता कम्पनीलाई कुनै प्रकारको छुट दिइने छैन।”
उपमहानगरपालिकाले आगामी दिनमा पनि विकास कार्यमा ढिलाइ गर्ने ठेकेदार कम्पनीहरूको विवरण सार्वजनिक गर्दै आवश्यक कानूनी कारबाही निरन्तर गरिने जनाएको छ।