दक्षिण भारतको केरला राज्यको एक अदालतले अभिनेत्रीको अपहरण र बलात्कार प्रयासको मुद्दामा मलयालम सुपरस्टार दिलीपलाई निर्दोष ठहर गरेको छ।
यो अदालतले मुद्दामा संलग्न अन्य छ जनालाई दोषी ठहर गरे पनि अभिनेत्रीलाई अपहरण गरी आक्रमण गर्न आपराधिक षड्यन्त्र रचेको आरोप लागेका दिलीपलाई भने सफाइ दिएको हो।
दक्षिण भारतीय भाषाहरूमा ८० भन्दा बढी चलचित्रमा काम गरेकी र थुप्रै प्रतिष्ठित पुरस्कार जितेकी ती अभिनेत्रीमाथि फेब्रुअरी २०१७ मा त्रिशूरबाट कोच्चितर्फ जाँदै गर्दा पुरुषहरूको समूहले आक्रमण गरेको थियो।
भारतीय कानुनले यौन हिंसाका पीडितको पहिचान सार्वजनिक गर्न रोक लगाएको छ, तर सन् २०२२ मा ती अभिनेत्रीले आफ्नो गुमनाम रहने अधिकार त्याग्दै बीबीसीलाई आफ्नो पीडा सुनाएकी थिइन्। अदालतको यो फैसलालाई उच्च अदालतमा चुनौती दिने विकल्प उनीसँग छ।
सोमबार बिहान एर्नाकुलम सहरका प्रधान जिल्ला तथा सत्र अदालतका न्यायाधीश हनी एम वर्गीसले यो फैसला सुनाएका हुन्। फैसला सुनाउने क्रममा अदालतबाहिर सुरक्षा व्यवस्था कडा पारिएको थियो, जसमा दुवै प्रवेशद्वारमा ब्यारिकेडहरू राखिएको र ठुलो सङ्ख्यामा प्रहरी तैनाथ गरिएको थियो।
आफूमाथिको आरोप अस्वीकार गर्दै आएका दिलीपलाई सन् २०१७ मा पक्राउ गरी जमानतमा रिहा हुनुअघि तीन महिना हिरासतमा राखिएको थियो। उनी यस मुद्दामा आरोपित गरिएका करिब एक दर्जन व्यक्तिहरूमध्ये एक थिए।
प्रहरीले उनीहरूमाथि सामूहिक बलात्कार, आपराधिक षड्यन्त्र, अपहरण र यौन दुर्व्यवहारलगायतका आरोप लगाएको थियो। दोषी ठहर भएका छ जना पुरुषलाई डिसेम्बर १२ मा सजाय सुनाइने भएको छ।
- अभिनेत्रीले मौनता तोडेपछि
आक्रमणको पाँच वर्षपछि सन् २०२२ मा ती अभिनेत्रीले आफ्नो मौनता तोड्दै आफ्नो कठिन यात्रा वर्णन गरेकी थिइन्। उनको इन्स्टाग्राम पोस्ट केरलाका केही ठुला हस्तीहरू मोहनलाल र मम्मुट्टीसहित थुप्रै बलिउड अभिनेत्रीहरूले समर्थन गर्दै साझा गरेका थिए।
उनले बीबीसीलाई बताएअनुसार आक्रमण भएको दिन उनी भोलिपल्टको फिल्मको डबिङका लागि त्रिशूरबाट कोच्चितर्फ जाँदै गर्दा अपहरणमा परेकी थिइन्। आक्रमणकारीहरूले आक्रमणको भिडियो बनाएका थिए । ‘सायद उनीहरू मलाई ब्ल्याकमेल गर्न चाहन्थे,’ उनले भनेकी थिइन्।
उनले र दिलीप दुवैको सेलिब्रिटी हैसियतका कारण मिडियामा यस मुद्दाले अत्यधिक ध्यान पाएको र धेरै कभरेज दुखदायी भएको बताएकी थिइन्। अनलाइनमा उनलाई ‘पीडितलाई नै दोष लगाउने’ गरिएको थियो, जसमा मानिसहरूले उनी साँझ ७ बजे किन यात्रा गर्दै थिइन् भनेर प्रश्न गरेका थिए।
अरू कतिपयले उनको नैतिकतामाथि प्रश्न उठाए, गाली गरे र उनले घटना ‘रचेको’ सम्मको दाबी गरेका थिए। आक्रमणपछि राज्य सरकारले केरला उच्च अदालतका एक पूर्व न्यायाधीशको नेतृत्वमा राज्यको फिल्म उद्योगमा महिलाहरूले सामना गर्नुपरेका समस्याहरू छानबिन गर्न एक समिति गठन गरेको थियो।
गत वर्ष सार्वजनिक भएको हेमा समितिको प्रतिवेदनले भारतको सबैभन्दा लोकप्रिय फिल्म हबहरूमध्ये एकमा गहिरो समस्या रहेको खुलासा गरेको थियो। प्रतिवेदनले उद्योगमा ‘शक्तिशाली पुरुषहरूको माफिया’ को प्रभुत्व रहेको र महिलाहरूमाथि ‘यौन उत्पीडन व्याप्त रहेको’ उल्लेख गरेको थियो।