रूपन्देही । कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेश शरण चौधरीसहित तीन जनाविरुद्ध सामूहिक बलात्कारको आरोपमा मुद्दा दर्ता गरिएको छ। जिल्ला सरकारी वकिल कार्यालय रूपन्देहीले नाम गोप्य राखिएकी ‘भैरहवा–१५’ की एक युवतीमाथि भएको घटनासम्बन्धी आरोपमा मुद्दा अघि बढाएको हो।
मुद्दामा अध्यक्ष चौधरीसँगै राजेश्वर चौधरी र सन्तकुमार यादवलाई आरोपित बनाइएको छ। यसमध्ये यादव हाल थुनछेकका लागि रूपन्देही कारागारमा रहेका छन्।
पीडित पक्षका अनुसार २०८१ असोज ६ गते भएको घटनामा ती व्यक्तिहरूको संलग्नता रहेको भन्दै किटानी जाहेरी दर्ता गरिएको थियो। प्रारम्भिक चरणमा प्रहरीमा मुद्दा दर्ता नभएपछि पीडितले जिल्ला अदालतमा रिट दायर गरेकी थिइन्। अदालतको आदेशपछि मात्र अनुसन्धान प्रक्रिया अघि बढाइएको जनाइएको छ।
यसअघि पीडितको गोपनीयता भंग गरेको आरोपमा अध्यक्ष चौधरीविरुद्ध साइबर अपराधसम्बन्धी मुद्दा पनि उठेको थियो। तर उक्त मुद्दा अघि नबढाइएको बताइएको छ।
यता, आरोपित अध्यक्ष चौधरीले भने आफू निर्दोष रहेको दाबी गर्दै आरोपलाई सुनियोजित षड्यन्त्र भएको बताएका छन्। उनले घटनालाई आफ्नो चरित्र हत्या र राजनीतिक रूपमा फसाउने प्रयासका रूपमा व्याख्या गरेका छन्। यदि आफू दोषी ठहरिए कानुनअनुसार सजाय भोग्न तयार रहेको, अन्यथा झुटो आरोप लगाउनेहरूलाई कारबाही हुनुपर्ने उनको भनाइ छ।
घटनाले स्थानीय तहको नेतृत्वमाथि गम्भीर प्रश्न उठाएको छ भने न्यायिक प्रक्रियाले सत्य तथ्य बाहिर ल्याउने अपेक्षा गरिएको छ।