बाँके । बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१२, कोरियनपुरकी २२ वर्षीया सिर्जना बुढामगर जलेको अवस्थामा मृत फेला परेपछि घटनाले रहस्यमय रूप लिएको छ। शनिबार राति करिब साढे ११ बजे घरबाहिर एक महिला जलेको अवस्थामा देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।
गम्भीर अवस्थामा भेटिएकी सिर्जनालाई उपचारका लागि अस्पताल पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेका हुन्। मृतक सिर्जनाको चार वर्षीया छोरी रहेको बताइएको छ।
प्रहरीका अनुसार पहिलो पतिसँग सम्बन्ध विच्छेदपछि उनी कोरियनपुरकै २४ वर्षीय मोहम्मद आरिफसँग नेपालगन्ज–८ रानीतलाउ नजिक डेरामा बस्दै आएकी थिइन्। दुवैबीच पटक–पटक विवाद हुने गरेको र केही दिनअघि कुटपिटको उजुरी परेपछि प्रहरीले आरिफलाई नियन्त्रणमा लिएको थियो। पछि मिलापत्र गरी उनी रिहा भएका थिए।
प्रहरी हिरासतबाट छुटेको सोही रात सिर्जना जलेको अवस्थामा फेला पर्नुले घटनामा शंका उत्पन्न भएको प्रहरीले जनाएको छ। मृतकको शव आरिफको घर नजिकै फेला परेकाले हत्या आशंकालाई थप बल पुगेको छ।
माइती पक्षले हत्या भएको भन्दै किटानी जाहेरी दिएपछि प्रहरीले आरिफ, उनकी आमा र दिदीलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ। घटनाको वास्तविक कारण भने पोस्टमार्टम रिपोर्ट आएपछि मात्र खुल्ने प्रहरीले जनाएको छ।