पर्सा । पर्साको पकहामैनपुर गाउँपालिका वडा नं. ३ स्थित श्री राम चरित्र भगत माध्यमिक विद्यालयमा सञ्चालन भइरहेको माध्यमिक शिक्षा परीक्षा (SEE) मा प्रधानाध्यापकको घोर लापरवाही र मनपरी सार्वजनिक भएको छ। परीक्षा सञ्चालन निर्देशिका र कार्यविधिलाई लत्याउँदै प्रधानाध्यापक पप्पु चौहानले व्यक्तिगत स्वार्थका आधारमा शिक्षकहरू खटाएपछि उक्त परीक्षा केन्द्र विवादको घेरामा परेको हो।
SEE को निर्देशिका अनुसार परीक्षा केन्द्रमा निरीक्षक खटाउँदा पहिलो प्राथमिकता प्राथमिक तह (प्रावि) र दोस्रोमा निम्न माध्यमिक तह (निमावि) का शिक्षकहरूलाई दिनुपर्ने स्पष्ट व्यवस्था छ। तर, प्रधानाध्यापक चौहानले आफ्ना निकटका व्यक्तिलाई काखा र अरूलाई पाखा गर्ने रणनीति अपनाएका छन्।
विद्यालयमा उपेन्द्र प्रजापति, बच्चु पासवान र फरिन्द्र चौहान जस्ता अनुभवी प्रावि शिक्षकहरू उपलब्ध हुँदाहुँदै उनीहरूलाई पाखा लगाइएको छ। नियम विपरीत मावि तहका शिक्षक नितिश उपाध्यायलाई निरीक्षकका रूपमा खटाइएको छ, जुन कार्यविधि विरुद्धको कदम हो ।
परीक्षा मर्यादित बनाउन अनुगमनका लागि निश्चित मापदण्ड तोकिएको भए तापनि प्रधानाध्यापक चौहानले विद्यालयलाई आफ्नै 'बिर्ता' जस्तो व्यवहार गरेका छन्। अनुगमनमा दुई जना (केन्द्राध्यक्ष र एक सहायक) रहनुपर्ने निर्देशनलाई लत्याउँदै उनले आफ्नो 'जम्बू टोली' खडा गरेका छन्। पप्पु चौहान (केन्द्राध्यक्ष) , प्रकाश साह , प्रकाश चौहान , तेज प्रताप चौहान (लेखापाल ) रहेका छन् ।
लेखापाल जस्तो प्रशासनिक कर्मचारीलाई समेत परीक्षाको संवेदनशीलता ख्याल नगरी अनुगमन टोलीमा राख्नुले प्रधानाध्यापकको एकलौटी तन्त्र प्रष्ट पारेको छ।
यसरी नियम र कार्यविधि विपरीत शिक्षकहरू परिचालन गरिएपछि यो केन्द्र अहिले 'रेड जोन' मा परेको छ। परीक्षाको पहिलो दिनबाटै देखिएको यो बेथिति र प्रधानाध्यापकको "गुटबन्दी" ले विद्यार्थीहरूको भविष्य र परीक्षाको विश्वसनियतामाथि नै गम्भीर प्रश्न चिन्ह खडा गरेको छ।
स्थानीय सरोकारवालाहरूले यस विषयमा तत्काल छानबिन गरी नियम मिच्ने प्रधानाध्यापक चौहानमाथि कारबाही गर्न र परीक्षालाई मर्यादित बनाउन शिक्षा इकाई तथा सम्बन्धित निकायसँग माग गरेका छन्।