वीरगञ्ज । पर्साको पोखरिया स्थित मालपोत कार्यालयबाट प्रहरीले तीन जना शंकास्पद बिचौलियालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय पोखरियाबाट शुक्रबार खटिएको प्रहरी टोलीले कार्यालय परिसरभित्र अनावश्यक रूपमा प्रवेश गरी सेवाग्राहीलाई हैरानी दिएको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिएको हो।
इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक प्रदीप पौडेलका अनुसार मालपोत कार्यालयभित्र असम्बन्धित व्यक्तिहरूले सेवाग्राही तथा कर्मचारीलाई दुःख दिएको गुनासो प्राप्त भएपछि उनीहरूलाई पक्राउ गरिएको हो। पक्राउ परेकाहरूको नाम भने हालसम्म सार्वजनिक गरिएको छैन।
प्रहरीका अनुसार पक्राउ परेका तीनै जना व्यक्तिहरू कार्यालयभित्र प्रवेश गरी विभिन्न काम गराइरहेको अवस्थामा फेला परेका थिए। उनीहरूले आफूहरू लेखापढी व्यवसायी भएको दाबी गरे पनि त्यसबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
नियन्त्रणमा लिइएका व्यक्तिहरूलाई इलाका प्रहरी कार्यालय पोखरियामा राखी थप अनुसन्धान अघि बढाइएको प्रहरीले जानकारी दिएको छ। प्रहरीले मालपोत कार्यालयजस्ता संवेदनशील स्थानमा अनधिकृत रूपमा प्रवेश गरी सेवाग्राहीलाई प्रभावित पार्ने गतिविधि नियन्त्रण गर्न कडाइ गर्ने जनाएको छ।