काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डोलप्रसाद अर्याल प्रतिनिधिसभाको सभामुखमा निर्विरोध भएका छन् । संघीय संसद् सचिवालयले सभामुखमा उम्मेदवारी दर्ताका लागि तोकेको समय शुक्रबार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म अर्यालको मात्रै उम्मेदवारी परेको प्रवक्ता सहसचिव एकराम गिरीले जानकारी दिए ।
अब आइतबार बिहान ११ बजे बस्ने प्रतिनिधि सभाबाट उनी औपचारिक रूपमा सभामुख चयन भएको घोषणा हुनेछ ।
सभामुखले पाउने सेवा सुविधाबारे ‘संघीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐन, २०७३ मा उल्लेख छ ।
ऐनको अनुसूची–१ अनुसार सभामुखले पारिश्रमिक प्रतिमहिना ६७ हजार ३२० रुपैयाँ पाउँछन् । त्यो बाहेक विशेष भत्ता प्रतिमहिना १ हजार, बैठक भत्ता प्रतिदिन १ हजार पाउँछन् ।
कानुन आयोगको वेबसाइटमा राखिएको ऐन अनुसार सभामुखले प्रतिमहिना ३ हजार रुपैयाँ सञ्चार सुविधा, प्रतिमहिना २८ हजार २७५ रुपैयाँ, फर्निचर खर्च एकमुष्ट १५ हजार, निजी सचिवालय बन्दोबस्त प्रतिमहिना २ हजार रुपैयाँ पाउँछन् ।
त्यस्तै सभामुखले गार्डघरका लागि प्रतिमहिना २ हजार, सवारी इन्धन प्रतिमहिना २५० लिटर, मोबिल त्रैमासिक रूपमा १० लिटर पाउँछन् । बिजुली धारा बिलअनुसार पाउँछन् ।
दैनिक भ्रमण भत्ता प्रतिदिन ३ हजार पाउँछन् । यात्रा बिमा प्रति भ्रमण १० लाख रुपैयाँ गरिएको हुन्छ । सभामुखले परिचारकलाई लुगा भत्ता भनेर वार्षिक रूपमा ४ हजार रुपैयाँ पाउँछन् ।