वीरगन्ज । वीरगन्ज महानगरपालिकामा एक ११ वर्षीया बालिकामाथि यौनजन्य हिंसाको प्रयास गर्ने अधवैंशे पुरुषलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
वीरगन्ज–८ दुर्गा रोडमा किराना र मासु पसल सञ्चालन गर्ने ५० वर्षीय इस्माइल मियालाई प्रहरीले पक्राउ गरेको हो।
पीडित बालिका (परिवर्तित नाम: रिमा) बिहान करिब ११ बजे पसलको बाँकी रकम तिर्न गएका बेला पसल सञ्चालक मियाले उनलाई पसलभित्र लगेर मोबाइलमा अश्लिल भिडियो देखाउँदै अनैतिक कार्यको प्रयास गरेका थिए। नातिनी उमेरकी बालिकामाथि मियाले गरेको यस्तो हर्कतले स्थानीयलाई स्तब्ध बनाएको छ।
बालिकाको अदम्य साहस
आफूमाथि जबरजस्ती हुन थालेपछि बालिकाले उच्च साहस देखाउँदै अभियुक्त मियाको हातमा जोडले टोकेर उनको चंगुलबाट उम्कन सफल भएकी थिइन्। अपराधीको पञ्जाबाट उम्किएर घर पुगेकी बालिकाले रोँदै परिवारलाई घटनाबारे जानकारी गराएकी थिइन्।
घटनापछि आक्रोशित आफन्त र स्थानीय पसल पुग्दा मिया फरार भइसकेका थिए। वडा प्रहरी कार्यालय बिर्तामा पीडित परिवारले दिएको उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय पर्साको सक्रियतामा मियालाई छपकैयाबाट लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको छ।
पक्राउ परेका मियामाथि हाल थप अनुसन्धान भइरहेको र वीरगन्जवासीले दोषीलाई कडाभन्दा कडा कारबाहीको माग गरेका छन्।