काठमाडौं। विभिन्न सरकारी कार्यालयहरू वरिपरि सक्रिय रहेका बिचौलियामाथि प्रहरीले कडाइ गरेपछि पछिल्ला चार दिनमा १६४ जना पक्राउ परेका छन्।
सेवाग्राहीलाई छिटो काम गराइदिने नाममा अनावश्यक शुल्क असुल्दै आएका बिचौलियालाई लक्षित गरी सञ्चालन गरिएको विशेष अभियानअन्तर्गत उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार सरकारी कार्यालय परिसरमा अनधिकृत रूपमा प्रवेश गरी सेवाग्राहीलाई झुक्याउने तथा गलत जानकारी दिई आर्थिक लाभ उठाउने कार्यमा संलग्न व्यक्तिहरूमाथि निगरानी बढाइएको छ।
पक्राउ परेकामध्ये केहीमाथि सार्वजनिक शान्ति भंगसम्बन्धी कसुरमा कारबाही प्रक्रिया अघि बढाइएको छ भने अन्यको हकमा आवश्यक अनुसन्धान भइरहेको छ।
सरकारी सेवा प्रभावकारी, पारदर्शी र सेवाग्राहीमैत्री बनाउन यस्ता बिचौलियाविरुद्धको अभियानलाई अझ तीव्र बनाइने प्रहरीले जनाएको छ।