बारा । जीतपुर–सिमरा उपमहानगरपालिका वडा नम्बर २० को वडा कार्यालय एक सातादेखि बन्द छ । वडाध्यक्ष, वडासचिव र कर्मचारीहरूले शान्ति सुरक्षाको कारण देखाउँदै वडा कार्यालय बन्द गरेका हुन् ।
आइतबार दिउँसो जेनजी समूहका केही युवाहरूले अचानक वडा कार्यालयमा प्रवेश गरी टेबल–कुर्सी तोडफोड गर्नुका साथै जनप्रतिनिधि र कर्मचारीमाथि दुव्र्यवहार गरेपछि शान्ति सुरक्षाको कारण देखाउँदै वडाबाट प्रदान गरिने सबै सेवा बन्द गरिएको हो ।
स्थानीय शम्भु यादवको नेतृत्वमा ५०/६० जनाको संख्यामा आएका युवाहरूले विद्यालयको शौचालय जीर्ण भएको, नाला सरसफाइको भुक्तानी नपाएको, स्वास्थ्य चौकी सञ्चालनमा नआएको र वडाको मसानघाटको जग्गा अतिक्रमण भएको विषयमा विवाद सुरु गरेका वडाध्यक्ष रसुलमियाँ अन्सारीले बताएका छन् । सामान्य छलफलबाटै टुंगो लाग्न सक्ने विषयमा युवाहरूको समूह एक्कासि तोडफोड र आक्रमणमा उत्रिएको उनले बताए ।
वडाध्यक्ष अन्सारीले भने, ‘हामी मानसिक रूपमा एकदमै त्रसित छौँ । जेनजीको नाममा त्रास फैलाउने काम भएको छ । शान्ति सुरक्षाको ग्यारेन्टी नभएसम्म वडा कार्यालयबाट सेवा सुरु गर्न सकिँदैन ।’
जीतपुर–सिमरा उपमहानगरपालिका वडा नम्बर २० ले वडाभित्र रहेका जीर्ण शौचालय मर्मतका लागि चालु आर्थिक वर्षमा ३ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । अन्सारीले बताएअनुसार, नाला सरसफाइको हकमा प्रत्येक वर्ष वडाले पालिकाको जेसिभी प्रयोग गरेर सरसफाइ गर्दै आएको छ । तत्कालीन नगरप्रमुख स्वर्गीय कृष्ण पौडेलको कार्यकालमा निर्माण भएको स्वास्थ्य चौकीमा विद्युत् मिटर जडान नहुँदा र घेराबार लगायतका कारणले सञ्चालनमा आउन सकेको छैन । मसानघाटको जग्गा भने आफू वडाध्यक्ष (२०७४ देखि निरन्तर) हुनुअघि नै अतिक्रमणमा परेको अन्सारीको भनाइ छ ।

वडाध्यक्ष अन्सारीले जेनजी समूहका युवाहरू एक्कासि आक्रामक भई हातपातमा उत्रिएको भन्दै बिहीबार भएको कार्यपालिका बैठकमा समेत गुनासो गरे । उनले शान्ति सुरक्षाको माग गर्दै उपमहानगरमा लिखित निवेदन दिएका छन् । अन्सारीको निवेदनमा बुधबार उपमहानगरले स्थानीय प्रशासनलाई पत्राचार गर्दै शान्ति सुरक्षा व्यवस्थापन गरिदिन आग्रह गरेको छ । पत्रमा भनिएको छ, ‘अध्यक्ष एवं कर्मचारीमाथि ज्यान मार्ने नियतले आक्रमण गरेकोले उक्त घटनामा संलग्न व्यक्तिलाई तत्काल कानुनी कारबाही गरी कार्यालय पुनः सञ्चालनका लागि शान्ति सुरक्षा व्यवस्थापन गर्न सहयोग गरिदिनुहुन अनुरोध छ ।’
वडासचिव हरिकिशोर साहले जिउ–ज्यानको सुरक्षाभन्दा जागिर ठुलो नभएको टिप्पणी गरेका छन् । वडा सचिव साहले भने, ‘सोमबारदेखि वडा कार्यालयका सबै सेवा बन्द छन् । शान्ति सुरक्षाको ग्यारेन्टी नभएसम्म काममा फर्कन सकिँदैन ।’
उपमहानगरपालिकाको बिहीबार बसेको कार्यपालिका बैठकमा वडाध्यक्ष अन्सारीले जस्तै वडा नम्बर १३ का वडाध्यक्ष हेमनारायण चौधरी, वडा नम्बर २ का वडाध्यक्ष धनबहादुर श्रेष्ठलगायत केही जनप्रतिनिधिहरूले जेनजीका नाममा युवाहरूले वडामा आएर धम्काउने, कानुनविपरीत काम गर्न दबाब दिने र वडामा त्रास फैलाउने काम गरेको भन्दै गुनासो राखेको उपमहानगरपालिकाले जनाएको छ ।
वडा नम्बर १३ का वडाध्यक्ष चौधरीले जेनजीका युवाहरूले राम्रा विषयहरू उठाए पनि प्रस्तुत गर्ने शैली नमिल्ने गरेको बताए । वडाध्यक्ष चौधरीले भने, ‘जेनजीका युवाहरूले धम्कीपूर्ण भाषामा यो भएन, त्यो भएन, किन भएन भनेर भन्नुभएको छ । उहाँहरू अनुशासित भएर कानुनसम्मत रूपमा आएमा हामी सबै कुरा मान्न तयार छौँ ।’
भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका कारण जीतपुर–सिमराका आधा दर्जनभन्दा बढी वडा कार्यालयहरू क्षतिग्रस्त छन् । जसका कारण पछिल्लो समय धेरै ऊर्जावान् वडाध्यक्षहरू निराश भई जोखिम लिएर काम गर्ने मानसिकतामा छैनन् । यसअघि अतिक्रमणमा परेको सार्वजनिक जग्गा संरक्षणमा महत्त्वपूर्ण भूमिका खेलेका उपमहानगरपालिका वडा नम्बर १२ का वडाध्यक्ष श्याबाबु खाँ चौधरी अब जसोतसो १ वर्ष कार्यकाल बिताउने बताउँछन् । उनले वडा कार्यालय नहुँदा काम गर्ने ऊर्जा नै मरेको गुनासो गरे ।

यता जेनजीका नाममा जनप्रतिनिधिहरूमा त्रास फैलाएको भन्दै नगरप्रमुख राजन पौडेलले सामाजिक सञ्जालमार्फत वडाध्यक्षहरू वडामा बसेर काम गर्न अप्ठ्यारो र असुरक्षित महसुस गरेको टिप्पणी गरेका छन् । नगरप्रमुख पौडेलले भने, ‘कार्यपालिका बैठकमा केही वडाध्यक्षज्यूहरूले वडामा बसेर काम गर्न अप्ठ्यारो भएको र असुरक्षित महसुस भएको जानकारी गराउनुभएको छ । वडामा बसेर काम गर्ने जनप्रतिनिधिहरूलाई सुरक्षित महसुस गर्ने वातावरण बनाइदिनुहुन बालेन सरकारसँग अनुरोध गर्दछु ।’
यता राष्ट्रिय स्वतन्त्र पार्टी, जीतपुर–सिमराका नगर अध्यक्ष सुरेश केसीले रास्वपाको नाममा अराजकता फैलाउन खोज्ने युवाहरूलाई पार्टीले स्वीकार नगर्ने बताएका छन् । नगरसभापति केसीले भने, ‘रास्वपाको नाम लिएर हाम्रो सरकार छ भन्दै विधि–प्रक्रिया नमिल्ने विषयमा धम्काउने, अभद्र व्यवहार गर्ने गरेको गुनासो आएको छ । हाम्रा कार्यकर्ता र पार्टी संगठनका युवाहरूबाट कानुनविपरीत काम भएको छ भने कारबाहीका लागि पार्टीको माथिल्लो निकायमा सिफारिस गर्छौँ ।’
वडा कार्यालय बन्द भएको जानकारी छैन – प्रजिअ
जिल्ला प्रशासन कार्यालय, बाराका प्रमुख (प्रजिअ) धर्मेन्द्र कुमार मिश्रले शान्ति सुरक्षाको कारण देखाउँदै वडा कार्यालय बन्द भएको विषय आफूलाई जानकारी नभएको बताएका छन् । प्रजिअ मिश्रले भने, ‘सेवा किन बन्द गर्नुभयो, मलाई केही जानकारी छैन त । असुरक्षा भयो भनेर उहाँहरूले भन्नुपर्यो, त्यसपछि पो शान्ति सुरक्षा गर्ने हो ।’
प्रजिअ मिश्रले पालिकाबाट ‘जबरजस्ती तोडफोड’ गरेको भन्ने व्यहोराको पत्र मात्रै आएको बताए । उनले भने, ‘वडाध्यक्ष, वडासचिवलाई काम गर्न असहज भयो, असुरक्षा भयो भने हामीलाई रिपोर्ट गर्नुपर्यो । अब तपाईंहरूबाट जानकारी पाएँ, के रहेछ बुझ्छु ।’
कार्यपालिका बैठकमा ६ जनाजति वडाध्यक्षहरूले जेनजीको नाममा त्रासको वातावरण सिर्जना भएको भन्दै सेवा प्रदान गर्न नसक्ने बताएका थिए ।
सम्भार : रातो पाटि