पर्सा । कालिकामाई गाउँपालिकामा आफूलाई ‘जेनजी’ समूहको नाममा चिनाउने केही युवाहरूले अराजक गतिविधि गर्दै त्रास फैलाएको भन्दै जनप्रतिनिधि तथा कर्मचारीहरूले कारबाहीको माग गरेका छन् ।
गाउँपालिका अध्यक्ष वशिष्ठ गुप्ता, प्रमुख प्रशासकीय अधिकृत राज कुशवाहा, उपाध्यक्ष राजमती बरैन तथा वडा अध्यक्ष सोनालाल चौरसियालगायतका जनप्रतिनिधि र कर्मचारीहरूले संयुक्त रूपमा जिल्ला प्रशासन कार्यालय पर्सामा ज्ञापनपत्र बुझाएका हुन् ।
ज्ञापनपत्रमा उल्लेख भएअनुसार, आफूलाई ‘जेनजी प्रमुख’ बताउने राजनिश कुशवाहाको नेतृत्वमा केही युवाहरूले गाउँपालिकाभित्र विभिन्न बहानामा दबाब सिर्जना गर्ने, धम्क्याउने तथा असामाजिक गतिविधि गर्ने गरेका छन् । यस्ता गतिविधिका कारण जनप्रतिनिधि र कर्मचारीहरू असुरक्षित महसुस गर्न थालेका छन् ।
जनप्रतिनिधिहरूले सेवा प्रवाहमा समेत बाधा पुगेको जनाउँदै शान्ति सुरक्षा कायम गरी दोषीमाथि कानुनी कारबाही गर्न माग गरेका छन् । उनीहरूले यस्ता गतिविधि नियन्त्रण नभएमा स्थानीय तहको कामकाज प्रभावित हुने चेतावनी दिएका छन् ।
उक्त ज्ञापनपत्र जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालसमक्ष बुझाइएको हो । जनप्रतिनिधिहरूले गाउँपालिकामा शान्तिपूर्ण वातावरण कायम गरी निर्वाध रूपमा सेवा प्रवाह गर्ने वातावरण मिलाइदिन प्रशासनसँग आग्रह गरेका छन् ।







