पर्सा । पर्साको पोखरिया नगरपालिकामा सञ्चालनमा रहेको मालपोत कार्यालयले हालसम्म १३ करोड ४५ लाख १० हजार १५५ रुपैयाँ राजस्व संकलन गरेको जनाएको छ। कार्यालय प्रमुख रामजी साहका अनुसार २०८१ चैत १५ गतेदेखि सञ्चालनमा आएको उक्त कार्यालयबाट एकद्वार प्रणालीमार्फत सेवा प्रवाह भइरहेको छ, जसबाट सेवाग्राहीहरू सन्तुष्ट देखिएका छन्।
कार्यालयका अनुसार २०८१ चैत १५ गतेदेखि आर्थिक वर्ष २०८१/८२ को असार मसान्तसम्म विभिन्न शीर्षक—जस्तै मुद्दा फाँट, रजिस्ट्रेसन लगायतबाट ३ करोड ९९ लाख ४४ हजार १६० रुपैयाँ राजस्व संकलन गरिएको थियो। त्यसैगरी आर्थिक वर्ष २०८२/८३ मा ९ करोड ४५ लाख ६५ हजार ९९५ रुपैयाँ राजस्व संकलन भएको छ। यसरी हालसम्म कुल १३ करोड ४५ लाख १० हजार १५५ रुपैयाँ राजस्व संकलन भएको प्रमुख साहले जानकारी दिए।
प्रमुख साहका अनुसार कार्यालयमा कुनै पनि प्रकारको नगद कारोबार हुँदैन। सबै राजस्व रकम राष्ट्रिय वाणिज्य बैंक, पोखरियास्थित राजस्व खातामा जम्मा गरी भौचर पेश गर्नुपर्ने व्यवस्था गरिएको छ। राजस्व रकममा एक रुपैयाँ पनि कमी भएमा प्रणालीले स्वीकार नगर्ने र भौचर रुजु नहुने व्यवस्था गरिएको उनले बताए।
त्यसैगरी, जग्गासम्बन्धी लिखतमा लाग्ने राजस्व, किता विवरण तथा सम्पूर्ण अभिलेखहरू अनलाइन प्रणाली र हार्ड कपी दुवै माध्यममा पारदर्शी रूपमा सुरक्षित गरिएको जानकारी दिइएको छ।
पोखरियामा मालपोत कार्यालय स्थापना हुनु अघि यस क्षेत्रका सेवाग्राहीहरूलाई वीरगञ्ज पुगेर सेवा लिनु पर्दा समय र खर्च दुवै बढी हुने गरेको थियो। तर अहिले स्थानीय स्तरमै सेवा उपलब्ध भएपछि सहज र छिटो सेवा पाउन थालेको सेवाग्राहीहरूले बताएका छन्।
धोबिनी गाउँपालिका–४, लंगडीका सेवाग्राही लालबाबु जिम्मदारका अनुसार अब घरबाटै नजिकै रहेको कार्यालयमा पुगेर सजिलै काम सम्पन्न गर्न सकिने भएको छ। त्यस्तै पोखरियाका जितेन्द्र पटेलले पनि राजस्व बैंकमा जम्मा गरी भौचर पेश गरेपछि प्रक्रिया छिटो र झन्झटबिना सम्पन्न हुने गरेको बताए। स्थानीय स्तरमै प्रभावकारी सेवा प्रवाह हुन थालेपछि सेवाग्राहीहरू खुसी देखिएका छन्।