काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेस पूर्वका सभापति शेबहादुर देउवा र उनकी पत्नी तथा पूर्वमन्त्री आरजु राणा देउवा विरुद्ध गैरकानुनी सम्पत्ति आर्जनको आशंकामा अनुसन्धान तीव्र बनाइएको छ। सोही क्रममा जिल्ला अदालत काठमाडौंले पक्राउका लागि अनुमति दिएको विश्वसनीय स्रोतले जनाएको छ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले लामो समयदेखि उनीहरूको सम्पत्तिको स्रोत, विवरण तथा वैधतामाथि अध्ययन गरिरहेको थियो। अनुसन्धानका क्रममा संकलित प्रमाणका आधारमा अदालतबाट पक्राउ अनुमति प्राप्त गरिएको बताइएको छ।
हाल देउवा दम्पती विदेश भ्रमणमा रहेकाले तत्काल नियन्त्रणमा लिन नसकिएको सुरक्षा निकायले जनाएको छ। उनीहरू स्वदेश फर्किएपछि आवश्यक कानुनी प्रक्रिया अघि बढाइने तयारी भइरहेको छ।
राजनीतिक रूपमा संवेदनशील मानिएको यस प्रकरणले देशको शक्ति सन्तुलनमा प्रभाव पार्ने आकलन गरिएको छ। प्रमुख दलका शीर्ष नेतृत्व नै अनुसन्धानको दायरामा आएपछि यसले राजनीतिक वृत्तमा थप बहस र चासो उत्पन्न गरेको छ।
समाचार सार्वजनिक भएसँगै सामाजिक सञ्जाल तथा विभिन्न राजनीतिक वृत्तमा फरक–फरक धारणा व्यक्त भएका छन्। केहीले यसलाई कानुनी शासन सुदृढ गर्ने कदमका रूपमा स्वागत गरेका छन् भने केहीले राजनीतिक प्रेरित कदमको रूपमा टिप्पणी गरेका छन्।
सम्बन्धित निकायले भने कानुनसम्मत प्रक्रिया र प्रमाणका आधारमा मात्र अनुसन्धान अगाडि बढाइएको स्पष्ट पारेको छ। आगामी दिनमा यस प्रकरणले कस्तो मोड लिन्छ भन्ने विषय अहिले सबैको ध्यानको केन्द्र बनेको छ।