काठमाडौं । जेन–जी आन्दोलनका क्रममा लापरबाही भई आन्दोलनकारीको ज्यान गएको आरोपमा पक्राउ परेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक सम्बन्धी मुद्दामा आज निर्णायक मोड आउने भएको छ।
प्रहरीले अनुसन्धान सकी मुद्दा दायर गर्ने वा हाजिरी जमानीमा रिहा गर्ने भन्ने विषयमा सरकारी वकिल कार्यालयसँग परामर्श गरिरहेको जनाएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईका अनुसार अन्तिम निर्णय छलफलपछि मात्रै लिइनेछ।
यसअघि सर्वोच्च अदालतले बुधबारभित्र अनुसन्धान टुंग्याएर मुद्दा दायर गर्न वा अन्यथा थुनामुक्त गर्न परमादेश जारी गरेको थियो। अदालतको उक्त आदेशपछि आजभित्रै ठोस निर्णय लिनुपर्ने बाध्यता प्रहरीमाथि परेको छ।
ओली र लेखकलाई गत १४ चैतमा पक्राउ गरिएको थियो। उनीहरूको बयान प्रक्रिया सम्पन्न भइसकेको छ भने अनुसन्धान अन्तिम चरणमा पुगेको बताइएको छ। यदि आजै मुद्दा दायर भएमा अदालतको आदेशअनुसार उनीहरू थप समय हिरासतमा रहन सक्छन्।
तर, अनुसन्धान अपूरो रहेमा सर्वोच्चको आदेशअनुसार हाजिरी जमानीमा रिहा गरेर थप अनुसन्धान अघि बढाइनेछ। यसअघि सोही प्रकरणमा पक्राउ परेका एक सहसचिवलाई हाजिरी जमानीमा छाडिएको उदाहरण पनि रहेको छ।
यो घटनाले राजनीतिक वृत्तमा चासो बढाएको छ। आजको निर्णयले केवल दुई नेताको कानुनी अवस्थामात्र होइन, समग्र राजनीतिक समीकरणमा समेत प्रभाव पार्ने विश्लेषण गरिएको छ।