नवीन चौधरी, बारा । मधेस प्रदेशका महिलाहरु माथी घरेलु हिंसा बढ्दै गएको छ । घरको इज्जत बचाउन घरको कुरा घर मै राख्नु पर्छ भन्दै हिंसा सहन बाध्यता रहेको उनीहरुको भनाई रहेका छन् ।
माया गर्नेले कहिले काहीं कुटिहाल्छ नि घरको अभिभावक हो भन्ने कुरा अधिकांस महिलाहरुको बुझाई रहेका छन् । नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण (NDHS–2022) का अनुसार करिब ४६% महिलाले जीवनको कुनै न कुनै समयमा शारीरिक, मानसिक वा यौन हिंसा भोगेका र भोगिरहेका छन्।
प्रदेश प्रहरीका तथ्यांक अनुसार आर्थिक बर्ष २०७९/८० मा ४९२२ र २०८०/८१ मा ५५९६ वटा लैंगिक हिंसाका घटना घटिसकेको देखिएका छन् । र यस चालू आर्थिक बर्षमा अहिले सम्मको रेकर्ड अनुसार १८०६ घटना दर्तामा आइसकेको जानकारी प्राप्त भएको छ ।
त्यस्तै, जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको बिगत ६ महिनाको रेकर्ड अनुसार ८५ भन्दा बढी घरेलु हिंसा, ४० वटा शारीरिक हिंसा, २५ वटा मानसिक/भावनात्मक हिंसा र २० वटा यौन हिंसा दर्ता भएको छ ।
उक्त मुद्दामा अनुसन्धान गर्दै जादा बालविवाह, दाइजो प्रथा, पुरुषप्रधान सोच, आर्थिक निर्भरता तथा शिक्षा र सचेतनाको कमि मुख्य कारण देखिएको बाराका प्रहरी नायब उपरीक्षक तथा सुचना अधिकारी बिजयराज पण्डितले जानकारी दिनु भयो ।
महिलाको सुरक्षित घर र सामाजिक संस्था मार्फत पीडितलाई सहयोगका लागि प्रहरी तथा महिला हेल्पलाइन नम्बर ११३३ राखिएको हुँदा पनि सामाजिक शिक्षा, कानुनी सचेतना र स्थानीय समुदायको सहयोगको कमि देखिएकोले हिंसा बढ्दै गएको सहजै अनुमान गर्न सकिन्छ ।
घरको अभिभावक र समाजको डरले महिलाहरु आफ्नो दु:ख र पिडा बाहिर नल्याउने गरेको बुझिएको छ । अधिकांश घटनामा पीडित महिलाले सामाजिक बदनामी, आर्थिक निर्भरता र पारिवारिक दबाबका कारण उजुरी नदिने गरेको महिला अधिकारकर्मीहरूको भनाइ रहेको छ।
विभिन्न संघ संस्था तथा संचार माध्यमबाट “माया भनेको सम्मान, समानता र सुरक्षासँग जोडिएको सम्बन्ध हो, कुटपिटसँग होइन।” भन्ने सन्देश जारी गर्न अधिकारकर्मीहरुले आग्रह गरेका छन् । बाराका १६ वटै पालिकाले आफ्नो गाउँ-गाउँमा जनचेतना र सचेतना शिक्षा कार्यक्रम गर्न उनिहरुले जोड दिनु पर्ने आवस्यक रहेको बताए ।