वीरगञ्ज । मध्यरातमा जिल्ला प्रहरी कार्यालय पर्सा को नेतृत्वमा प्रहरीले वीरगञ्जमा सञ्चालनमा रहेका क्यासिनोहरूमा आकस्मिक छड्के अनुगमन गरेको छ। वडा प्रहरी कार्यालय विर्ता र जिल्ला प्रहरीको संयुक्त टोलीले शहरका प्रमुख तीन क्यासिनोमा एकैपटक जाँच गरेको हो।
प्रहरी टोलीले किङ क्यासिनो, सुरज होटल भित्र सञ्चालित क्यासिनो तथा सरोबर पोटिका मा विस्तृत चेकजाँच गरेको थियो। अनुगमनका क्रममा क्यासिनो परिसर, खेल क्षेत्र र प्रवेशद्वारमा विशेष निगरानी गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार जाँचको मुख्य उद्देश्य नेपाली नागरिकको क्यासिनो प्रवेशमा रहेको कानुनी प्रतिबन्ध कार्यान्वयन भए/नभएको बुझ्नु तथा सम्भावित अवैध गतिविधि नियन्त्रण गर्नु हो।
अनुगमनका क्रममा कुनै पनि नेपाली नागरिक क्यासिनोभित्र फेला नपरेको प्रहरीले जानकारी दिएको छ। यसलाई क्यासिनो सञ्चालकहरूले नियमको पालना गरिरहेको प्रारम्भिक संकेतका रूपमा हेरिएको छ।
प्रहरीले यस्ता छड्के अनुगमनलाई आगामी दिनमा पनि निरन्तरता दिने जनाएको छ, जसले कानुन कार्यान्वयनलाई थप प्रभावकारी बनाउने विश्वास लिइएको छ।