वीरगञ्ज । पर्सा निर्वाचन क्षेत्र नं. १ का सांसद तथा रास्वपा पर्सा सभापति हरि पन्तले निर्वाचन क्षेत्रमै निजी सचिवालय स्थापना गरेका छन्।
राजधानी केन्द्रित हुने र जनताबाट टाढिने प्रवृत्तिलाई तोड्दै सांसद पन्तले वीरगञ्ज–८ मा सचिवालय स्थापना गरी सञ्चालनमा ल्याएका हुन्। हिजो आयोजित एक समारोहबीच सचिवालयको उद्घाटन गरिएको हो।
उद्घाटन कार्यक्रममा बोल्दै सांसद पन्तले आफू क्षेत्रबाहिर रहँदा पनि नागरिकका समस्या समाधानका लागि सचिवालयमार्फत सहजीकरण गरिने बताए। उनले सुदिश प्रजापतिको नेतृत्वमा १५ सदस्यीय सचिवालय टोली गठन गरिने र केही दिनभित्रै टोलीले पूर्णता पाउने जानकारी दिए। टोलीका सदस्यहरूको नाम र सम्पर्क नम्बर सार्वजनिक गरिने उनले बताए।
सांसद पन्तले सरकारी कार्यालयहरूलाई सेवा प्रवाहमा ढिलासुस्ती नगर्न निर्देशन दिइसकेको उल्लेख गर्दै कुनै पनि प्रकारको लापरबाही भए सचिवालयमार्फत जानकारी गराउन आग्रह गरे।
कार्यक्रममा रास्वपा पर्सा उपसभापति तुल्सा पौडेल, सचिव सुदिश प्रजापति, कोषाध्यक्ष दिलिप कुर्मी, क्षेत्रीय सभापति राम आर्या, महानगर सभापति अमन आलम, सचिव गौतम श्रेष्ठ लगायतका नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो। साथै १९ वटै वडाका निर्वाचन परिचालन समिति पदाधिकारी तथा शुभेच्छुकहरूको सहभागिता रहेको थियो।
कार्यक्रमको सञ्चालन कृष्ण पासवानले गरेका थिए।