पर्सा । पर्साको पटेर्वा सुगौली गाउँपालिका वडा नम्बर ५ मनिहर्वामा महिला सामुदायिक भवनको निर्माण कार्य सुरु गरिएकोछ । शुक्रबार वडाध्यक्ष विपिन मुखियाले महिला भवनको निर्माण कार्यको शिलान्यास गरेका हुन् ।चालू आर्थिक वर्षकै वडा कार्यालयो ५ लाख रुपैयाँ बजेटबाट निर्माण हुन लागेको उक्त भवनको शुक्रबार वडाध्यक्ष मुखियाले पूजा–पाठ गरेर शिलान्यास गरेका हुन् ।
त्यसअवसरमा वडाध्यक्ष मुखियाले वडाका महिलाहरूको माग र आवश्यकतालाई मध्यनजर गर्दै महिला भवन निर्माण गर्न लागिएको बताए । उनले भने,“महिलाहरूले बैंक मिटिङ्ग, सभा–समारोह, सीपमूलक तालिम र अन्य सामाजिक कार्यहरू गर्न एउटा सुरक्षित र आफ्नै भवनको अभाव झेल्दै आउनुभएको थियो। स्थानीय आमा–दिदीबहिनीहरूको भावना र आवश्यकतालाई सम्मान गर्दै यो बजेट विनियोजन गरिएको हो। मेरो वडाका जनताले सामूहिक रूपमा माग गरेका हरेक विकासका कार्यहरू पूरा गर्न म सदैव प्रतिबद्ध छु। विकास केवल इँटा र सिमेन्टको संरचना मात्र होइन, यसले जनताको जीवनस्तरमा परिवर्तन ल्याउनुपर्छ।“
टोलमै सामूहिक महिला भवन बन्ने भएपछि स्थानीय महिलाहरू उत्साहित भएका छन्। स्थानीय बासिन्दा आशा देवीले, “वडा अध्यक्षले हाम्रो समस्या बुझ्नुभयो। उहाँको काम गर्ने शैलीले जनताको मन र मुटु छोएको छ। यो भवन बनेपछि हामीलाई विभिन्न भेला र तालिम सञ्चालन गर्न धेरै सहज हुनेछ।“
शिलान्यास कार्यक्रममा वडा सदस्य मदन मिश्र, स्थानीय नेता पारस साह, किसनावती देवी, आशा देवी,सम्भु मह्तो थारु, बैजनाथ मह्तो थारु,अर्बिन्द मिश्रा , राधा यादव रोसन चौधरी,लगायतको उपस्थिति रहेको थियो।