वीरगञ्ज । जिराभावानी गाउँपालिका–४ मा एक महिलामाथि कुटपिट तथा जबरजस्ती करणी प्रयासको आरोपपछि जिल्ला प्रहरी कार्यालय पर्साले घटनाबारे छानबिन अगाडि बढाएको छ। प्रहरीले वडाध्यक्ष राजेश्वर दास थारुलाई उपस्थित गराउन प्रहरी चौकी सुपौलीमार्फत पत्राचार गरेको जनाएको छ।
पीडित महिला सुगन्धि देवीले वडाध्यक्ष थारुमाथि जबरजस्ती घरभित्र प्रवेश गरी कुटपिट गर्नुका साथै अनुचित व्यवहार गर्न खोजेको आरोप लगाएकी छन्। घटनापछि आफू असुरक्षित महसुस गरिरहेको बताउँदै उनले दोषीमाथि कडा कारबाहीको माग गरेकी छन्।
पीडित पक्षका अनुसार जमिनसम्बन्धी विवादलाई आधार बनाएर दबाब सिर्जना गर्ने उद्देश्यले उक्त घटना घटाइएको हो। “हामीलाई डर देखाएर जमिन कब्जा गर्न खोजिएको छ,” पीडित पक्षले दाबी गरेको छ।
घटनाले स्थानीयस्तरमा व्यापक प्रतिक्रिया उत्पन्न गरेको छ। बासिन्दाहरूले निष्पक्ष छानबिन गरी पीडितलाई न्याय दिनुपर्ने माग गर्दै जनप्रतिनिधिको आचरणमाथि गम्भीर प्रश्न उठाएका छन्।
यता, वडाध्यक्ष थारुले आफूमाथि लागेको आरोप अस्वीकार गरेका छन्। तर पीडित पक्षले सत्यतथ्य सार्वजनिक गराउन र न्याय प्राप्त गर्न कानुनी प्रक्रिया अगाडि बढाउने तयारी गरिरहेको जनाएको छ।
यसैबीच, घटना सार्वजनिक भएसँगै वडाध्यक्ष निकट व्यक्तिहरूले गाउँघरमा दबाब सिर्जना गर्ने तथा सामाजिक सञ्जालमा पक्षमा टिप्पणी गर्ने गरेको आरोप पनि लागेको छ।