वीरगन्ज । उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जले नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य तथा नेता मनोज चौधरीलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ ।
फागुन २१ मा भएको निर्वाचनमा पर्सा क्षेत्र नम्बर २ मा नेकपाबाट उम्मेदवार रहेका चौधरीलाई चुनावको ठिक दुई दिनअघि उनि सवार गाडीमा विस्फोटक पदार्थसहित प्रहरीले पक्राउ गरेको थियो।
विष्फोटक पदार्थ तथा निर्वाचन सम्बन्धी कसुर मुद्दामा पुर्पक्षका लागि हाल वीरगन्ज कारागारमा रहेका नेता चौधरीलाई उच्च अदालतले पर्सा जिल्ला अदालतको चैत १२ गतेको आदेश बदर गर्दै धरौटीमा छाड्न आदेश गरेको हो ।
बिहीबार उच्च अदालतको इजलास नम्बर १ का न्यायाधीश गोकर्ण डाँगी र दुर्गा प्रसाद ढुंगेलको संयुक्त इजलासले चौधरीसँग २ लाख ५० हजार रुपैयाँ धरौटी माग गर्ने आदेश गरेको उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगन्जका सूचना अधिकारी ध्रुव सुबेदीले जानकारी दिए ।
यस्तै, त्यहि मुद्दाका अन्य प्रतिवादी सत्यनारायण दास थारु र सुरज कार्कीको हकमा भने पर्सा जिल्ला अदालतकै आदेश सदर भएको सूचना अधिकारी सुबेदीले बताए ।
चौधरीको तर्फबाट अधिवक्ता रामचन्द्र सिंह र सुधिर कुमार कर्णले बहस गरेका थिए भने सरकारको तर्फबाट उपन्यायाधिवक्ता बुधिलाल श्रेष्ठले बहस गरेका थिए ।
गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा पर्सा क्षेत्र नम्बर २ बाट नेकपाका उम्मेदवार समेत रहेका नेता चौधरीलाई पर्सा प्रहरीले निर्वाचनभन्दा दुई दिनअघि चैत १९ गते नियन्त्रणमा लिएको थियो । उनी सवार गाडीबाट विष्फोटक पदार्थजस्तो देखिने शंकास्पद वस्तु फेला परेको आरोपमा उनी सहित चार जनालाई प्रहरीले पक्राउ गरेको थियो ।
यसअघि पर्सा जिल्ला अदालतले गत चैत १२ गते चौधरीलाई पूर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो भने अन्य तिन जनासंग धरौटी माग गरेको थियो । जिल्ला अदालतको आदेशमा चित नबुझेको भन्दै नेता चौधरी पक्ष भने उच्च अदालत पुगेको थियो ।
चौधरीसँगै पक्राउ परेका पर्सागढी नगरपालिका–३ निवासी सत्यनारायण दास थारु, धनुषाधाम नगरपालिका निवासी सुरज कार्की तथा सवारी चालक बाराको प्रसौनी गाउँपालिका–४ निवासी सहाब आलम अन्सारीलाई भने पर्सा जिल्ला अदालतले गत चैत १२ गते धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।