वीरगञ्ज । मालपोत कार्यालय पर्सामा नक्कली रसिद प्रयोग गरी लाखौं रुपैयाँ बराबरको सरकारी राजश्व हिनामिना गरेको आरोपमा पक्राउ परेका लेखापढी व्यवसायी ओमप्रकाश यादवलाई अनुसन्धान पूरा नहुँदै जिम्मा जमानीमा छुटाउने तयारी भइरहेको भन्दै गम्भीर प्रश्न उठ्न थालेको छ।
नाम नखुलाउने सर्तमा सरकारी वकिलको कार्यालयका एक कर्मचारीले यादवलाई भोलि सोमबार जिम्मा जमानीमा रिहा गराउने तयारी भइरहेको बताएका छन्। उनका अनुसार घटनाको अनुसन्धान अझै प्रारम्भिक चरणमै रहेकाले यस्तो निर्णयले अनुसन्धान प्रक्रियामै प्रभाव पार्न सक्ने आशंका बढेको छ।
ती कर्मचारीका अनुसार यादव यसअघि पनि लिखतसम्बन्धी कसुरमा फरार रहेपछि जिल्ला अदालत पर्सामा हाजिर भई छुटेका थिए। विगतमा समेत विवादित गतिविधिमा मुछिएका व्यक्तिलाई पुनः सहज रूपमा उन्मुक्ति दिन खोजिएको भन्दै सरोकारवाला निकायभित्रै असन्तुष्टि बढिरहेको स्रोतको भनाइ छ।
किर्ते रसिद प्रयोग गरी सरकारी राजश्व हिनामिना जस्तो गम्भीर आरोपमा पक्राउ परेका व्यक्तिलाई अनुसन्धान नसकिँदै आर्थिक प्रभाव वा पहुँचका आधारमा जिम्मा जमानीमा रिहा गरिए त्यसले कानुनी शासन र सुशासनमाथि नै प्रश्न उठ्ने स्थानीयको भनाइ छ।
स्थानीयवासी तथा सरोकारवालाहरूले निष्पक्ष अनुसन्धान गरी घटनामा संलग्न सबैलाई कानुनी दायरामा ल्याउन माग गरेका छन्। साथै, प्रभाव र पहुँचका आधारमा दोषीलाई उन्मुक्ति दिने प्रयास भए त्यसले राज्यका निकायप्रतिको जनविश्वास अझ कमजोर बन्ने चेतावनी समेत दिएका छन्।