पर्सा । मतदाता शिक्षा तथा निर्वाचन प्रणालीबारे विद्यार्थीलाई व्यवहारिक ज्ञान दिने उद्देश्यले स्टेप बाइ स्टेप इङ्लिस सेकेन्डरी स्कुलले विद्यालय सभा निर्वाचन २०८३ सफलतापूर्वक सम्पन्न गरेको छ। निर्वाचन कार्यक्रमअन्तर्गत पहिलो चरणमा कक्षा मनिटर तथा दोस्रो चरणमा हाउस क्याप्टेन र उपक्याप्टेनको निर्वाचन गरिएको थियो।
विद्यालयको वार्षिक शैक्षिक क्यालेन्डरअनुसार आयोजित उक्त निर्वाचन २०८३ जेठ ८ गते शुक्रबार विद्यालय परिसरमा सम्पन्न भएको हो। विद्यालयमा नर्सरीदेखि कक्षा १० सम्म करिब १७०० विद्यार्थी अध्ययनरत रहेकामा निर्वाचनमा कक्षा २ देखि १० सम्मका करिब १२०० विद्यार्थीको उत्साहजनक सहभागिता रहेको थियो।
निर्वाचनका प्रमुख निर्वाचन आयुक्त विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख श्री कृष्णप्रसाद पोखरेल रहनुभएको थियो। पहिलो चरणको निर्वाचनमा कक्षा २ देखि १० सम्म अध्यापन गराउने कक्षा शिक्षकहरू मतदान अधिकृतका रूपमा खटिनुभएको थियो भने दोस्रो चरणमा सम्बन्धित हाउसका हाउस फादरहरूलाई मतदान अधिकृतको जिम्मेवारी दिइएको थियो।
निर्वाचनलाई व्यवस्थित र प्रभावकारी बनाउन विद्यार्थीहरूलाई विभिन्न भूमिकामा परिचालन गरिएको थियो। विद्यालयका करिब ५० जना स्काउट विद्यार्थीलाई म्यादी प्रहरी तथा मतदान सुरक्षाकर्मीको जिम्मेवारी दिइएको थियो। साथै, कक्षा ११ मा अध्यापनरत शिक्षकहरूले निर्वाचन पर्यवेक्षकको भूमिका निर्वाह गर्नुभएको थियो।
पहिलो चरणको निर्वाचनबाट कक्षा २ मा जोस्ना थापा र सागर थापा, कक्षा ३ मा प्रशंसा भट्टराई र प्रभास सापकोटा, कक्षा ४ मा स्काइलर सापकोटा र अन्भी सापकोटा, कक्षा ५ मा आदिप विश्वकर्मा र आयुष्मा तामाङ, कक्षा ६ मा श्रीया सुवेदी र आर्जन सुवेदी, कक्षा ७ मा सोयम अधिकारी र सोनिशा विक, कक्षा ८ मा प्रमिशा आले मगर र श्रेजल न्यौपाने, कक्षा ९ मा आर्या अधिकारी र लुइस गुरुङ तथा कक्षा १० मा असिन गुरुङ र राजविन थापा क्रमशः छात्र तथा छात्रा मनिटरमा निर्वाचित भएका थिए।
त्यसैगरी दोस्रो चरणअन्तर्गत सम्पन्न हाउसस्तरीय निर्वाचनमा रेड हाउसको क्याप्टेनमा कनिष्का भारती र उपक्याप्टेनमा प्रज्ञान काफ्ले, ग्रिन हाउसको क्याप्टेनमा गृष्मा पौडेल र उपक्याप्टेनमा आयान्स थापा, ब्लु हाउसको क्याप्टेनमा रागिनी यादव र उपक्याप्टेनमा सौगात थापा तथा येल्लो हाउसको क्याप्टेनमा आकृति सुवेदी र उपक्याप्टेनमा नवकिरण खनाल निर्वाचित भएका थिए।
निर्वाचनमा निर्वाचित सम्पूर्ण विद्यार्थीलाई प्रमाणपत्र वितरण गरिएको थियो।
कार्यक्रममा बोल्दै विद्यालय सभा निर्वाचन आयुक्त तथा अतिरिक्त क्रियाकलाप प्रमुख श्री कृष्णप्रसाद पोखरेलले नेपालको संवैधानिक निर्वाचन प्रणालीअनुसार विद्यालयमा निर्वाचन सम्पन्न गरिएकाले विद्यार्थीले निर्वाचन प्रक्रियाबारे व्यवहारिक ज्ञान प्राप्त गरेको बताउनुभयो। उहाँले निर्वाचन सफल बनाउन सहयोग गर्ने सम्पूर्ण शिक्षक, कर्मचारी तथा निर्वाचन सामग्री उपलब्ध गराउने निर्वाचन कार्यालय चितवनप्रति धन्यवाद व्यक्त गर्नुभयो।
त्यसैगरी विद्यालयका प्राचार्य श्री कृष्णप्रसाद भट्टले प्रयोगात्मक सिकाइलाई प्राथमिकता दिँदै विद्यार्थीलाई व्यवहारिक शिक्षा प्रदान गर्ने उद्देश्यले यस्तो कार्यक्रम आयोजना गरिएको बताउनुभयो। उहाँले आगामी दिनमा पनि यस्ता उपलब्धिमूलक तथा व्यवहारिक कार्यक्रमलाई निरन्तरता दिइने उल्लेख गर्दै राष्ट्रिय निर्वाचनकै शैलीमा विद्यालयले निर्वाचन सम्पन्न गर्न सफल भएकोमा खुसी व्यक्त गर्नुभयो। साथै, उहाँले निर्वाचन समितिलाई धन्यवाद ज्ञापन गर्दै निर्वाचित विद्यार्थीलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभयो।