वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–२६ (साविक सुगौली दापु वडा नं. १) मा रहेको सार्वजनिक पोखरी र कुलो अतिक्रमण गरी धर्मशाला निर्माण कार्य अघि बढाइएको भन्दै स्थानीय स्तरमा तीव्र विवाद चुलिएको छ। सरकारी नक्सामा स्पष्ट रूपमा पोखरी र कुलो जनिएको सार्वजनिक जग्गामा माटो पुरेर संरचना निर्माण गर्न खोजिएको भन्दै स्थानीय बासिन्दाले कडा विरोध जनाएका छन्।
स्थानीयका अनुसार विवादित क्षेत्रको कित्ता नम्बर ४२ मा सार्वजनिक पोखरी तथा कित्ता नम्बर १८८ मा पैनी/कुलो सरकारी नापी नक्सामै उल्लेख छ। यद्यपि, सो सार्वजनिक संरचना मासेर धर्मशाला निर्माण कार्य भइरहेको आरोप वीरगञ्ज महानगरपालिका–२६ का वडा अध्यक्ष शम्भु मिश्रामाथि लागेको छ।
स्थानीयवासीले वडा अध्यक्ष मिश्राले आफ्नो राजनीतिक पहुँच र शक्तिको आडमा सार्वजनिक सम्पत्तिमाथि हस्तक्षेप गर्दै कानुनविपरीत निर्माण कार्य गराइरहेको आरोप लगाएका छन्। मधेश प्रदेश सरकारको बजेटमार्फत पूर्वाधार विकास कार्यालयबाट निर्माण कार्य सञ्चालन गरिएको बुझिएको छ।
नेपालको प्रचलित कानुनअनुसार सार्वजनिक पोखरी, कुलो, तालतलैया तथा जलस्रोत अतिक्रमण, पुर्ने वा निजी प्रयोजनमा प्रयोग गर्न पाइँदैन। तर, जनप्रतिनिधिकै संरक्षणमा प्राकृतिक स्रोत मास्ने कार्य भइरहेको भन्दै स्थानीय स्तरमा आक्रोश बढ्दै गएको छ।
“धर्मशालाको नाममा पुस्तौँदेखि रहेको सार्वजनिक पोखरी र कुलो समाप्त पार्ने प्रयास भइरहेको छ। यो प्राकृतिक स्रोत र सार्वजनिक सम्पत्तिमाथिको खुला हस्तक्षेप हो,” एक स्थानीयले आक्रोश व्यक्त गर्दै भने।
स्थानीयका अनुसार वडा अध्यक्ष मिश्राको हैकमवादी शैली र कानुनविपरीतको गतिविधिका कारण क्षेत्रमा असन्तुष्टि चुलिएको छ। सार्वजनिक सम्पत्ति संरक्षण गर्नुपर्ने जिम्मेवारीमा रहेका जनप्रतिनिधिबाटै सार्वजनिक जग्गा मास्ने काम हुनु दुर्भाग्यपूर्ण भएको उनीहरूको भनाइ छ।
सरोकारवाला तथा स्थानीय बासिन्दाले तत्काल निर्माण कार्य रोक्न, घटनाको निष्पक्ष छानबिन गर्न तथा सार्वजनिक पोखरी र कुलोको संरक्षण गर्न सम्बन्धित निकाय, स्थानीय प्रशासन तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगसँग माग गरेका छन्। साथै दोषीमाथि कडा कानुनी कारबाही नगरिए जनआन्दोलनमा उत्रिने चेतावनी समेत स्थानीयले दिएका छन्।
वडा अध्यक्ष मिश्रले आफू कुनै काम एक्लै नगरी गाउँघरका मानिसहरूको जनचाहना अनुसार काम गरेको बताए । मेरो राम्रो काम र जनताको चाहना अनुसार गरेकोले पुन निर्वाचित भएको बताए ।