वीरगञ्ज । पर्सा जिल्लाबाट वंशजका आधारमा नेपाली नागरिकता लिएका व्यक्तिहरू भारतीय नागरिक रहेको दाबी सार्वजनिक भएपछि नागरिकता वितरण प्रक्रियामाथि फेरि प्रश्न उठेको छ । विशेषगरी सीमावर्ती जिल्लाहरूमा आर्थिक चलखेल र प्रभावका आधारमा नागरिकता वितरण हुने गरेको आरोपबीच यो प्रकरणले प्रशासनको भूमिकामाथि गम्भीर बहस सिर्जना गरेको छ ।
वीरगञ्ज महानगरपालिका–२८ सँग सम्बन्धित एक परिवारका सदस्यहरूले नेपाली नागरिकता लिएको भए पनि उनीहरूको नाम भारत, बिहार राज्यको आदापुर प्रखण्ड अन्तर्गतको सिरिसियाकला पञ्चायतको मतदाता नामावलीमा रहेको दाबी गरिएको छ । सार्वजनिक विवरणअनुसार महादेव साह सोनारका छोरा रामनाथ साह सोनारसहित पाँच दाजुभाइ भारतीय नागरिकका रूपमा सूचीबद्ध छन् ।
यद्यपि, सोही परिवारका रामनाथ साह सोनार र बच्चा साह उर्फ रामनरेश साह सोनारले पर्साबाट वंशजका आधारमा नेपाली नागरिकता लिएको प्रमाण भेटिएको बताइएको छ । रामनाथले २०५४ साल मंसिर ११ गते नेपाली नागरिकता लिएका थिए, जसमा तत्कालीन प्रशासकीय अधिकृतको हस्ताक्षर रहेको उल्लेख गरिएको छ ।
यस विषयमा २०७८ सालमै जिल्ला प्रशासन कार्यालय पर्सामा उजुरी दर्ता भएको भए पनि हालसम्म कुनै निष्कर्ष सार्वजनिक नभएको भन्दै स्थानीय स्तरमा असन्तुष्टि बढेको छ । सम्पत्ति शुद्धीकरण विभागमा समेत उजुरी परेको स्रोतले जनाएको छ ।
नेपाल नागरिकता नियमावली, २०६३ अनुसार वंशज नागरिकता प्राप्त गर्न बाबु–आमा वा तीन पुस्ताभित्रका नातेदारको नेपाली नागरिकता, जन्मदर्ता, नाता प्रमाणित गर्ने कागजातलगायत प्रमाण अनिवार्य मानिन्छ । आवश्यक प्रमाण नपुगेमा स्थानीय सर्जमिन र थप अनुसन्धानको व्यवस्था पनि रहेको छ ।
कानुनी प्रक्रिया र उपलब्ध विवरणबीच विरोधाभास देखिएको भन्दै प्रशासनले निष्पक्ष छानबिन गर्नुपर्ने माग उठ्न थालेको छ । पूर्व प्रशासकहरूका अनुसार सीमावर्ती क्षेत्रमा प्रभाव, दबाब र आर्थिक चलखेलका कारण यस्ता विवाद बेला–बेलामा देखिने गरेका छन् ।
यस विषयमा तत्कालीन प्रमुख जिल्ला अधिकारीले अनुसन्धान सुरु भएको बताएका थिए । तर त्यसपछिका वर्षहरूमा अनुसन्धानको अवस्था सार्वजनिक नहुँदा प्रशासनको मौनतामाथि थप प्रश्न उठेको छ ।