पर्सा । नेपाल पत्रकार महासंघ पर्सामा सदस्यता शुद्धीकरण तथा नयाँ सदस्यता वितरणका लागि गठित संघर्ष समितिले नेपाल पत्रकार महासंघ केन्द्रिय कार्यालय तथा मधेश प्रदेशलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।
संघर्ष समितिका संयोजक अनुप तिवारीले केन्द्रिय सचिव अशोक तिवारी तथा मधेश प्रदेश अध्यक्ष श्याम बंजारालाई ज्ञापन पत्र बुझाएका हुन् । ज्ञापन पत्र बुझ्दै केन्द्रिय सचिव तिवारीले संघर्ष समितिले उठाएको मागप्रति केन्द्र सकारात्मक रहेको प्रतिक्रिया दिएका छन् । पर्सामा निष्क्रिय तथा विवादित सदस्यहरूको छानबिनमा केन्द्रको साथ रहने उनको भनाइ थियो ।
यसैबीच संघर्ष समितिले मधेश प्रदेश अध्यक्ष बंजारालाई पनि ज्ञापन पत्र बुझाएको छ । प्रदेश अध्यक्ष बंजाराले पर्सा शाखालाई अविलम्ब बैठक गरी शुद्धीकरण प्रक्रिया अघि बढाउन आग्रह गरेका छन् ।
सो अवसरमा संघर्ष समितिका सह–संयोजक शेखर छतकुल्ली, सदस्य लालकिशोर सिंह, बिरेन्द्र साह ‘हिटलर’, राजेन्द्र सिंह, संतोष पटेल, कृष्णा कुशवाहा, मनोज कुमार मिश्रलगायतको सहभागिता रहेको थियो ।
संघर्ष समितिका संयोजक अनुप तिवारीका अनुसार आन्दोलन कार्यक्रमअन्तर्गत मंगलबारदेखि नेपाल पत्रकार महासंघ पर्सा शाखाको मूल गेटमा धर्ना दिइनेछ । धर्ना कार्यक्रम बिहान ११ बजेदेखि १२ बजेसम्म सञ्चालन हुने बताइएको छ ।