काठमाडौं । काठमाडौं महानगरपालिकाले गोरखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित ग्यालेक्सी ४के टेलिभिजनलाई आफ्नो सरसामान लैजान र घरधनीलाई तिर्नुपर्ने बाँकी बहाल रकम बुझाउन १५ दिने अन्तिम चेतावनी दिएको छ । महानगरको कानुन तथा मानव अधिकार विभागले एक सार्वजनिक सूचना जारी गर्दै तोकिएको समयभित्र सामान नहटाए लिलाम प्रक्रिया अगाडि बढाउने जानकारी गराएको हो ।
काठमाडौं महानगरपालिका वडा नं ३ का घरधनी मृगेन्द्र प्रसाद मिश्रले गोरखा मिडिया नेटवर्कका अध्यक्ष गितेन्द्र बाबु (जीबी) राईविरुद्ध घरजग्गा खाली गराई पाऊँ र भाडा असुल गरिपाऊँ भनी मुद्दा दायर गरेका थिए । उक्त मुद्दामा महानगरपालिकाको न्यायिक समितिले २०८१ कात्तिक १४ गते घरजग्गा खाली गराउने र बहाल रकम तथा बहाल कर प्रतिवादी (गोरखा मिडिया) बाट भराउने निर्णय गरेको थियो ।
न्यायिक समितिको उक्त निर्णय कार्यान्वयन नभएपछि उच्च अदालत पाटनले २०८२ साउन २८ गते दुई महिनाभित्र निर्णय कार्यान्वयन गर्न महानगरको नाममा परमादेश जारी गरेको थियो । अदालतको आदेशपछि २०८२ कात्तिक १४ गते महानगरको टोलीले घरजग्गा खाली गराउने कार्य सम्पन्न गरेको थियो ।
महानगरले घरजग्गा खाली गराएको ६ महिना पूरा भइसक्दा पनि ग्यालेक्सी ४के टेलिभिजनका सरसामानहरू अझै सोही स्थानमा रहेका छन् । घरधनी मृगेन्द्र मिश्रले गत २०८१ वैशाख २१ गते ती सामानहरू लिलाम गरिपाऊँ भनी महानगरमा निवेदन दिएका थिए ।
सोही निवेदनका आधारमा महानगरले यो १५ दिने सार्वजनिक सूचना जारी गरेको हो । सूचनामा भनिएको छ, 'यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र घरधनीलाई बुझाउनुपर्ने बहाल रकम बुझाई आफ्नो सरसामान लैजान यो अन्तिम सूचना प्रकाशित गरिएको छ ।'
महानगरले तोकेको १५ दिनको समयसीमाभित्र पनि सामान नलगेमा 'काठमाडौं महानगरपालिका विवाद निरुपण (कार्यविधि) ऐन, २०७५' को दफा ७० बमोजिम ती सामानहरू लिलाम गरिने व्यहोरा सूचनामा उल्लेख छ ।
सहकारी ठगी प्रकरणमा मुछिएका जीबी राई हाल फरार रहेका छन् भने उनी अध्यक्ष रहेको गोरखा मिडिया अन्तर्गतको ग्यालेक्सी ४के टेलिभिजन बन्द अवस्थामा छ ।
