काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल–भारत सीमा समस्या सम्बन्धमा दिएको अभिव्यक्तिलाई लिएर नेपाली कांग्रेसका सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माले जवाफ मागेका छन् ।
सोमबार लुम्बिनी प्रदेशको कार्यक्रममा सभापति थापा र उपसभापति शर्माले संसद्मा उभिएर प्रधानमन्त्रीले जवाफ दिनुपर्ने बताएका छन् ।
‘प्रधानमन्त्रीले संसद्मा उभिएर जवाफ दिनुपर्छ । उहाँ व्यक्ति होइन, देशको प्रधानमन्त्री हो । सीमाको प्रश्न हल गर्ने विषयको नेतृत्व गर्नुपर्ने प्रधानमन्त्रीले गैरजिम्मेवार अभिव्यक्ति दिनु गलत मात्रै होइन अराजक कर्म हो’, थापाले भने ।
उनले प्रधानमन्त्रीबाट गम्भीर विषयलाई गिजोल्ने कार्य हुनु अत्यन्तै दुःखद भएको समेत बताए । कार्यक्रममा उपसभापति शर्माले प्रधानमन्त्रीको अभिव्यक्ति गम्भीर र आपत्तिजनक भएको बताए ।
‘संसारको एकमात्र प्रधानमन्त्री जो देशको संसद्मा उभिएर भन्दै छ । मेरो देशले छिमेकीको सीमा मिचेको छ । यसको मतलब के अब हिसाब बराबर हो ?’, शर्माले प्रश्न गर्दै भने ।
प्रधानमन्त्री शाहले आइतबार संसद्मा प्रश्नोत्तरको क्रममा भारतले नेपालको मात्र होइन नेपालले पनि भारतको सीमा मिचेको बताएका थिए।