पर्सा । सामाजिक सञ्जाल तथा विभिन्न माध्यममा सार्वजनिक गरिएको पर्सा जिल्लाको वीरगन्ज महानगरपालिका वडा नं १५ को घटनाबारे स्थानीय स्रोतहरूले फरक दाबी गरेका छन् । उनीहरूका अनुसार घटनामा सुकदेव साह तुरहा घाइते भएका भनिएका व्यक्ति सुरुवातदेखि नै गम्भीर अवस्थामा नरहेको र घटनालाई अनावश्यक रूपमा बढाइचढाइ गरी प्रस्तुत गरिएको छ ।
स्थानीयवासीका अनुसार तुरहाले घटनाको दिन मादक पदार्थ सेवन गरेका थिए । मेडिकल परीक्षण प्रतिवेदनमा समेत मादक पदार्थ सेवन गरेको उल्लेख गरिएको छ । तुरहाले मादक पदार्थ सेवनपछि उनी गाउँ–टोलमा होहल्ला तथा गालीगलौज गर्दै राति करिब ११ बजेको समयमा उनी छिमेकीको घर आगाडि पुगेका थिए । त्यहाँ पुगेर चर्को स्वरमा गालीगलौज गर्दै जाँदा उक्त छिमेकीले सम्झाउने प्रयास गरेका थिए ।
स्थानीय स्रोतहरूका अनुसार सम्झाउने क्रममा कुनै योजनाबद्ध आक्रमण नभई उनी आफैं असन्तुलित भई लड्दा नालामा खसेर टाउकोमा चोट लागेको थियो । उक्त चोटलाई ज्यान मार्ने उद्देश्यले गरिएको सामूहिक आक्रमणका रूपमा चित्रण गरिएको भन्दै उनले आपत्ति जनाएका छन्। साथै उनले दाबी गरेका जग्गा जमिनको विवाद उनीसँगै नभएको अर्को व्यक्तिसँग भएको बताए ।
घटनासँग सम्बन्धित व्यक्तिहरूले पनि आफूहरूमाथि लगाइएका आरोपहरू निराधार रहेको बताएका छन्। उनीहरूको भनाइमा दुई पक्षबीच भएको सामान्य विवादलाई राजनीतिक प्रभाव र व्यक्तिगत स्वार्थका आधारमा ठूलो आपराधिक घटनाको रूप दिन खोजिएको छ। साथै एक व्यक्तिसँगको विवादलाई आधार बनाएर सम्पूर्ण परिवारका सदस्यहरूलाई मुद्दामा तान्ने तथा सामाजिक रूपमा बदनाम गर्ने षड्यन्त्र भइरहेको आरोप समेत लगाइएको छ।
स्थानीय सरोकारवालाहरूले घटनाको निष्पक्ष अनुसन्धान गरी वास्तविक तथ्य सार्वजनिक गर्न सम्बन्धित निकायसँग माग गरेका छन्। उनीहरूले सामाजिक सञ्जालमा फैलाइएका एकपक्षीय सूचना र आरोपका आधारमा निष्कर्षमा नपुग्न समेत सबैलाई आग्रह गरेका छन्।
"सत्य तथ्य छानबिनबाट मात्र बाहिर आउँछ, आरोप र प्रत्यारोपबाट होइन" भन्दै स्थानीयहरूले निष्पक्ष कानुनी प्रक्रियामार्फत घटनाको सत्यता उजागर गर्नुपर्ने बताएका छन्।